बागमतीमा गठबन्धनका दुबै उम्मेदवार विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ । गठबन्धनबाट महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् ।
यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।
यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् । कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् ।
यस्तै, नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार मात्र पाइन् । प्रदेश र स्थानीय तह दुवैतर्फबाट काफ्लेको कुल ८४ मतभार प्राप्त भयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरे । उनको कुल मतभार ८४ हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भएको चुनावमा ३ सय ४३ मत खसेको थियो । चुनावमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए । यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस