राष्ट्रिय जनमोर्चा कैलालीको अध्यक्षमा जगतप्रसाद जोशी निर्विरोध चयन


धनगढी –  राष्ट्रिय जनमोर्चा, कैलालीको अध्यक्षमा जगतप्रसादजोशी चयन हुनुभएको छ ।

मंगलबार धनगढीमा सम्पन्न पाँचौं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मिलन शाही, सचिव मेरजन शाही, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा कुन्ती पाण्डे चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा देवराज चौधरी, हेमराज भट्ट, देशराज चौधरी, प्रेम चन्द, पूर्णबहादुर शाही, लालबहादुर ताम्राकार, लल्ला राना, बालकृष्ण चौधरी, राज तिरुवा, शोभामणि भट्ट, रामकृष्ण राना, चन्द्रबहादुर विष्ट, खेमराज बडू, बाबुराम आचार्य र कल्पना बराल रहनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमसीसीमार्फत अमेरिका नेपाल पसेर चीन घेर्ने रणनीति लिएकोले खारेज हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालले हालसम्म लिइरहेको असंलग्न परराष्ट्र नीति अमेरिकी साम्राज्यवादको दबाबमा खत्तम हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । यसले भविष्यमा देश युक्रेन बन्ने खतरातर्फ सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

नेता भट्टले सत्तारुढ दलका नेताहरु नै भ्रष्टाचार र तस्करीमा लागेकाले जनताले उनीहरुलाई विश्वास गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

जगतप्रसाद जोशीको अध्यक्षता अघि बढेको सम्मेलनको सञ्चालन मेरजन शाहीले गर्नुभएको थियो ।

सम्मेलनमा वामपन्थी नेता आरसी भट्ट, राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, तराई मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्की, जातीय समता समाजका केन्द्रीय सदस्य शेरबहादुर विक, जनजाती नेता खड्क राना, नेता नुमबहादुर पुनले सफलताको शुभकामना दिनुभएको थियो ।

यस्तै, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष प्रेम चन्द, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कुन्ती पाण्डे, बुद्धिजीवी संघका शोभामणि भट्ट, अखिल छैठौंका केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

केही समय अघि राजमो छोडेर विभिन्न पार्टीमा प्रवेश गरेका कार्यकर्ताहरुसमेत सोही सम्मेलनमा मूलघरमै फर्किएका छन् ।

यसअघि सोमबार राजमो कञ्चनपुरले पनि आफ्नो छैठौं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ