रेणु यादवलाई मन्त्रीबाट हटाउन चौतर्फी दवाव, बर्खास्त गर्ने प्रधानमन्त्रीकाे तयारी


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् । हिंसा फैलाउने अभिव्यक्ति दिएपछि चौतर्फी विवादमा तानिएकी मन्त्री यावदले पदबाट राजीनामा नदिए प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने तयारी गरेका हुन् ।

बुधबार रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई अर्को गौर नरसंहार मच्चाएर मार्ने धम्की दिएकी थिइन् । चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा गराइएको सामूहिक हत्याकाण्ड हो ।

त्यस घटनामा माओवादी निकट वाइसियलका २८ जना कार्यकर्ताको मृत्यु भएको थियो । पदीय मर्यादा विपरित हिंसा भड्काउने अभिव्यक्ति दिएपछि नागरिक समाज, विद्यार्थी संगठन, सिके राउत नेतृत्वको जनमत पार्टी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले समेत मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।

एमालेका शीर्ष नेताहरु योगेश भट्टराई, इश्वर पोखरेल र प्रदीप ज्ञवालीले सिके राउतको हत्या गर्ने खुलेआम धम्की दिने मन्त्री यादवलाई सत्ता गठबन्धनले नै संरक्षण दिएको भन्दै प्रधानमन्त्री देउवाको जवाफ मागेका छन् ।

उनीहरुले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको र मन्त्री यादवलाई पदाबाट नहटाए प्रधानमन्त्री र कांग्रेस हिंसाको पक्षमा रहेको पुष्टि हुने चेतावनी समेत दिइसकेका छन् ।

यादवलाई बर्खास्त गरिनुपर्ने चौतर्फी दवावमा परेका प्रधानमन्त्री देउवाले समेत यसबारेमा चासो लिइसकेका छन् । विश्वस्त स्रोतका अनुसार रेणु यादवले मन्त्री पदबाट राजीनामा नदिए प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने तयारी गरेका हुन् ।

सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री यादवले दिएका अभिव्यक्तिका विषयमासमेत छलफल हुने स्रोतले जानकारी दियो । प्रधानमन्त्री देउवाले गठबन्धनभित्र आवश्यक छलफल गरेर मात्रै निर्णय लिने तयारी गरेका छन् ।

हिंसात्मक अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गर्न गठबन्धनभित्रै आवाज उठेको छ । बहालवाला मन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिनु आपत्तिजनक भएकाले तत्काल बर्खास्त गर्नुपर्ने आवाज गठबन्धनभित्र उठेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ