बालेनको ‘एक्सन’: एकैदिन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहलमा चल्यो डोजर
काठमाण्डु – काठमाण्डु महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।
नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयर बालेन नेतृत्वको महानगर टोलीले पसल हटाएर अनधिकृत संरचना भत्काएको हो । यसरी भत्काउनुअघि महानगरले नक्सा पास भए नभएको एकीन गर्दै नभएको खण्डमा ३५ दिन समय दिएको छ ।
नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन मेयर बालेन आफैं उपस्थित भएका छन् । संरचना भत्काउन जाँदा हेर्दाको दृश्यले बालेन अघि अघि र डोजर पछि पछि देखिन्छ ।
नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार महानगरले सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।
बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले सुन्धरास्थित काठमाण्डु मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । साथै न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ । नविल बैंक न्युरोड शाखाले बनाइएको अनधिकृत संरचना पनि महानगरले भत्काउने भएको छ ।
यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।
बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुगेका छन् । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।
नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस