०७४ मा भारी मतान्तरले जितेका एमालेका ६ सांसद, आगामी निर्वाचनमा कसलाई कति कठिन ?
काठमाण्डु – आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । मुलुकका विभिन्न साना तथा ठूला दलहरु चुनावी तयारीमा जुटेका छन् ।
योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाम गठबन्धन भएको थियो ।
जसका कारण १ सय ६५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको थियो । गठबन्धन भएका कारण धेरै नेताहरुले फराकिलो मतान्तरले जित हात पारेका थिए । जसमा यहाँ एमालेका केहि नेताको वर्तमान अवस्थाबारे चर्चा गरिएको छ ।
केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा सबैभन्दा धेरै मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेका थिए ।
उनले ५७ हजार १ सय ३९ मत ल्याएका थिए ।
२०७४ को निर्वाचनमा विजयी उम्मेदवारले ल्याएको मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत पाएका थिए । ओली २८ हजार ८४२ मतान्तरले विजयी भएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै सबैभन्दा बढी मत रहेको छ । स्थानीय चुनावमा एमालेको ४१ हजार ६१९, कांग्रेसको २२ हजार ०२२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३, र नेकपा एसको १ हजार ९८८ मत देखिन्छ ।
गठबन्धनमा रहेका दलहरु सबैको मत भन्दा एमाले एक्लैको भोट ६ हजार ८२१ मत बढी छ । यो क्षेत्रमा राप्रपासँग एमालेको गठबन्धन हुँदा यो मत अझै बढ्छ । यो क्षेत्रबाट एमाले अध्यक्ष ओली आफैं उम्मेदवार हुनेछन् भने कांग्रेसबाट खगेन्द्र अधिकारी वा विश्वदीप लिङ्देनमध्ये एक हुने सम्भावना रहेको छ ।
पार्वत गुरुङ
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा एमाले नेता पार्वत गुरुङले २०७४ सालमा ३० हजार ६४४ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेका थिए । बाम गठबन्धनबाट उम्मेदवार बनेका उनले ५५ हजार ४५७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाएका थिए ।
गुरुङले सबैभन्दा ठूलो मतान्तरमा जित्ने सांसदको रेकर्ड बनाएका थिए । गुरुङ मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । गत स्थानीय तहको चुवावको मतलाई आधार मान्दा दोलखामा एमाले नै ठूलो पार्टी देखिन्छ ।
त्यहाँ स्थानीय चुनावमा एमालेको ३९ हजार ५०, कांग्रेसको ३३ हजार ४३९, माओवादीको १७ हजार ३७५, नेकपा एसको ३ हजार १५१, राप्रपाको १ हजार ५११ र जसपा २०९ मत देखिन्छ । ५४ हजार १७४ मत पाँच दलीय गठबन्धनको देखिन्छ । एमाले र राप्रपाका बीचमा तालमेल भएर चुनावी मैदानमा जाँदा ४० हजार ५६१ मत हुन्छ । यो मत एमालेको भन्दा १३ हजार ६१३ बढी हो ।
यो निर्वाचन क्षेत्रमा पार्वत गुरुङसँगै एमालेबाट अर्का आनन्द पोखरेलले पनि दाबी गरिरहेका छन् भने माओवादीका विशाल खड्का र कांग्रेसबाट बर्मा लामा, रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला, अजयबाबु शिवाकोटी र कुन्दन काफ्लेको दाबी देखिन्छ ।
विष्णु पौडेल
केपी ओलीका अत्यन्तै विश्वासपात्र मानिने एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनले २०७४ को निर्वाचनमा १५ हजारभन्दा बढी मतान्तरले जित निकालेका थिए । पौडेलले ४४ हजार ०२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए ।
तर अहिले स्थानीय तहको चुनावको मतपरिणाम अनुसार यो निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको छ । कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, नेकपा एसको १ हजार ३८२, र जसपाको १८३ मत छ ।
यो क्षेत्रमा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत ३९ हजार ७१२ छ । एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १०७ मत हुन्छ । गठबन्धन यो निर्वाचन क्षेत्रमा २ हजार ६०५ मतले अगाडि देखिन्छ ।
गोकुल बाँस्कोटा
व्यंग्यात्मक शैलीमा अरुलाई कटाक्ष गरेर लोकप्रिय बनेका एमाले नेता हुन गोकुल बाँस्कोटा । २०७४ सालको चुनावमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर काभ्रे क्षेत्र नम्बर २ बाट १८ हजार ७७३ मतान्तरले जित निकाल्दै उनी प्रतिनिधिसभा सदस्य बनेका थिए । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ६९ मत ल्याएका थिए ।
गत स्थानीय तहको चुनावमा पनि बाँस्कोटाको यो क्षेत्रमा एमालेकै बढी मत देखिन्छ । यो क्षेत्रमा एमालेको ४५ हजार ५१४, कांग्रेसको ४५ हजार ४५६, नेकपा एसको ८ हजार ६७६, माओवादीको ६ हजार ३७० र राप्रपाको २ हजार ३५४ मत देखिन्छ । यो क्षेत्रमा कांग्रेस र एमालेको मत झण्डै हाराहारी छ । एमालेसँग हाराहारी मत भएको कांग्रेससँग माओवादी केन्द्र, नेकपा एस गठबन्धनमा छन् । जसका कारणले एमालेको भन्दा यो क्षेत्रमा गठबन्धनको भोट बढी देखिन्छ।
महेश बस्नेत
सधैं विवादमा आइरहने नेता हुन् महेश बस्नेत । बस्नेतले २०७४ सालको चुनावमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर १७ हजार ७२५ मतान्तरले जित निकालेका थिए । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानाले १८ हजार ६८७ मत ल्याएका थिए ।
गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा भने यो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै भोट कांग्रेसको देखिन्छ । यो क्षेत्रमा कांग्रेसको २५ हजार ७६४, एमालेको २४ हजार २८६, नेमकिपाको ४ हजार ९२५, राप्रपाको ४ हजार १७२, नेकपा एसको १ हजार २०२ र माओवादीको १ हजार ४५ मत छ । गठबन्धनमा आवद्ध दलहरुको यो क्षेत्रमा मत २८ हजार ११ मत हुन्छ ।
एमालेको भन्दा यो ३ हजार ७२५ मत बढी हा । यहाँ राप्रपा र एमालेका बीचमा तालमेल हुँदा भने गठबन्धनको भन्दा बढी मत हुन्छ । एमाले–राप्रपा तालमेल भएको खण्डमा ४४७ मत एमाले–राप्रपा गठबन्धनको हुन्छ ।
यो क्षेत्रबाट यो पटक पनि एमालेका तर्फबाट बस्नेत नै उम्मेदवार बन्ने तयारीमा छन् । नेपाली कांग्रेसबाट जिल्ला सभापति दुर्लभ थापाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।
सुरेन्द्र पाण्डे
अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको साझा उम्मेदवार बनेका एमाले नेता सुरेन्द्र पाण्डेले १५ हजारभन्दा बढी मतान्तरले चुनाव जितेका थिए ।
पाण्डेले चीरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका थिए । पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका थिए । नेता पाण्डे यो पटक पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर एमालेबाटै एमालेका पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले पनि दाबी गरेका छन् ।
कांग्रेसबाट भने बुर्लाकोटी र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले मध्ये उम्मेदवार हुनेछन्। गत स्थानीय चुनावको मत परिणाम अनुसार पनि यो क्षेत्रमा नेकपा एमाले पहिलो पार्टी देखिन्छ । गठबन्धनमा आवद्ध कांग्रेस माओवादी र नेकपा एसको मत जोड्दा पनि एमालेको मत धेरै देखिन्छ ।
यो क्षेत्रमा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४५९०, र नेकपा एसको ४ हजार ५ मत देखिन्छ । यो क्षेत्रमा गठबन्धनमा आवद्ध दलहरुको मत ४६ हजार २९६ मत छ भने एमालेको एक्लै गठबन्धनको भन्दा ६ हजार ६९० मत बढी देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस