लोसपा सरकारमा सहभागि हुने भएपछि जसपा बाहिरिने पक्का


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय छाड्न आग्रह गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सहभागी गराउन देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई मन्त्रालय छाड्न आग्रह गरेका हुन् ।

आइतवार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच भेटवार्ता भएको थियो । उक्त छलफलमा यादवले दुई मन्त्रालय छाडे आफू सरकारबाट बाहिरीने बताएका थिए । देउवाले दुई मन्त्रालय छाड्न आग्रह गरेसँगै जसपा सरकारबाट बाहिरिने पक्का पक्की भएको छ ।

जसपा अध्यक्ष यादव सरकारबाट बाहिरिने विषयमा पार्टीका नेताहरूसँग छलफल जुटेका छन् । स्थानीय तहको निर्वाचनमा पनि आफूहरुलाई धोका दिएको भन्दै उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै आएका छन् ।

लोसपा सरकारमा सहभागि हुँदै

महन्थ ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागि हुने निश्चित भएको छ । शनिवार प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेर २ मन्त्रालयसहित सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । देउवाले २ मन्त्रालय र प्रतिनिधि सभाको उपसभामुख पद लिन आग्रह गरेका थिए ।

देउवाको उक्त प्रस्तावमा अध्यक्ष ठाकुर पनि सहमत भएका छन् । भारत भ्रमण जानु भन्दा अघि नै प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

महन्थ ठाकुर पक्षले गत साउन ३ गते प्रतिनिधिसभामा अन्तिम समयमा देउवालाई विश्वासको दिएको थियो । आफ्ना माग पूरा गर्ने सर्तमा विश्वासको मत दिएको ठाकुर पक्षले जनाएको थियो ।

लोसपा अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री देउवाले मधेसका केही मागहरू पूरा गर्नुपर्ने अडान राखेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा लोसपाको मागप्रति सकरात्मक देखिएपछि लोसपा सरकारमा सहभागि हुन लागेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ