स्थानीय निर्वाचन : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न निर्देशन दिएको छ । बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएका हुन् ।
त्यसैगरी आजको बैठकले उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गरेको छ । जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।
यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख÷उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस