यी हुन् उम्मेदवार छान्न एमालेले बनाएका ६ वटा मापदण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्नको लागि ६ वटा मापदण्ड बनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएको हो ।
उक्त मापदण्डहरुमा लोकप्रियता र चुनावमा विजयको सुनिश्चितता, जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाइने उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
त्यसैगरी पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड तय गरिएको छ । वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने गुरुङले बताए ।
उनका अनुसार महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । त्यसैगरी एमालेले ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस