भारतको सहयोगमा युक्रेनबाट ५३३ नेपाली सुरक्षित स्थानमा पुगे : परराष्ट्र मन्त्रालय


काठमाडौं । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित ठाउँमा पुग्न सफल भएका छन् । सोमबार पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले भारतको उद्धार टोलीको सहयोगमा युक्रेनबाट ५ सय ३३ जना नेपालीको उद्धार गरिएको बताएका हुन् । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेका छन् ।

उनले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिएका छन् । उनले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको उनले दावी गरे ।

रुसी सेनाले सोमबार युक्रेनी शहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् ।

निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिरिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।

टोकियो र हङकङका बजारहरु ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ । यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ । रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ