कांग्रेसले पनि चुनाव एक्लै लड्न सक्दैन, गठबन्धन बनाएरै एमालेसँग भिड्छ : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निवार्चमा नेपाली कांग्रेस एक्लै नजाने बताएका छन् । शनिबार प्रदेश १ प्रेस चौतारी नेपालको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनमध्ये कसैले पनि एमालेसँग चुनावी मैदानमा एक्लै आउने आँट नगरेको बताएका हुन् स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन लिएर जाने उनको भनाइ छ । उनले भने, ‘अहिलेको गठबन्धनका पाँच घटकमध्ये कांग्रेस पनि एक हो । वर्तमान गठबन्धनमध्ये कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट गर्न सक्दैन ।’
त्यसैगरी अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र सकिने र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको बताए । उनले अगामी दिनमा माओवादी अगाडि बढ्न नसक्ने दावी गरे । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत। पक्की घरमा सुत, कच्ची घरमा सुत। छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ ।’ उनले भने ।
यता नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको समेत अध्यक्ष ओलीले बताए । ‘माधववाला पार्टी चिचिलामै समाप्त हुन्छ । पार्टी बनेकै छैन, त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ ।’ उनले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस