विप्लव र नारायणकाजीबीच पार्टी एकताबारे छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बीच पार्टी एकताबारे छलफल चलिरहेको छ । महासचिव विप्लव श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको निवास हरिसिद्दि पुगेका छन् ।
माओवादी केन्द्रले संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेसंगै असन्तुष्ट बनेका श्रेष्ठ पछिल्लो समय विप्लव नेतृत्वको नेकपासंग एकता गर्नको लागी छलफलमा लागेको स्रोत बताउंछ । विप्लवले श्रेष्ठसंग पार्टी एकताको लागि प्रस्ताव गरिसकेका छन् । आजको बैठकमा दुई नेताबीच त्यसबारेमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा चित्त नबुझे छाड्दा पनि आफुलाई आपत्ति नहुने अभिव्यक्ति दिएपछी श्रेष्ठ उनिसंग आक्रोसित बनेका छन् । दाहाल श्रेष्ठलाई भेट्न मंगलबार उनकै निवासमा पुगेका थिए । उनले आफुले त्यस्तो नभनेको भन्दै पार्टी नछोड्न आग्रह गरेका थिए । तर, श्रेष्ठले पार्टी छोड्न भनेकाले आफुले विकल्प खोज्न सक्ने संकेत दिएका थिए ।
अमेरिकी सहायता सम्झौता अनुमोदनमा माओवादी केन्द्र सहभागी भएको भन्दै श्रेष्ठसहित नेताहरु कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल,अन्जना विशंखे, जयपुरी घर्ती र देव गुरुङलगायत नेताहरु असन्तुष्ट छन् । तर,गुरुङ र महराले भने अन्तिममा अध्यक्ष दाहालको निर्णयलाई नै सहयोग गरेका थिए ।
श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लव र उनको भेटलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ । विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा आन्दोलनको घोषणा गरिसकेका छन् ।उनिहरुले यसअघि नेपाल बन्दको समेत आह्वान गरेका थिए । एमसीसी सदनबाट पारित भएपनि विप्लवसहितका पार्टीहरुको आन्दोलनले भने कार्यान्वयन पक्ष सजिलो हुने देखिएको छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस