प्रचण्डका दुःख : एकातिर टाल्दा अर्कातिर भ्वाङ !
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित भएपछि सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘एमसीसी पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
एमसीसी पारित गर्न प्रचण्ड सहमत नभएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्ने चेतावनी दिएका थिए । गठबन्धन टुटेपछि माओवादी सरकारबाट बाहिरिनुपर्ने, सभामुख अग्निप्रसाद सापकोटा बहिर्गमन हुनुपर्ने, नेकपा एकीकृत समाजवादीका सांसद पदमुक्त हुनसक्ने लगायत जोखिम थिए तर एमसीसी पास भएसँगै यी जोखिम अन्त्य भएका छन् ।
गठबन्धन र सरकारको जोखिमबाट प्रचण्ड मुक्त भएपनि प्रचण्डसामु नयाँ जोखिम र दुर्घटना आइलागेको छ । प्रचण्डले एमसीसीको जोखिम टालेपनि पार्टीभित्र अर्काे भ्वाङ गरेको छ ।माओवादी केन्द्र एमसीसीको पक्षमा उभिने निर्णयमा नेता नारायणकाजी श्रेष्ठको विमति थियो । श्रेष्ठले माओवादी एमसीसीको विपक्षमा उभिनुपर्ने मत राख्दै आएका थिए । एमसीसी पारित भएपछि उनले ट्विटरमा लेखे, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’
पारित हुनुअघि उनले ट्विटरमै लेखेका थिए, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसि सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’आन्तरिक छलफलमा नेता श्रेष्ठ विमति राख्दा प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकमा फरक मत राख्न र बाहिर नबोल्न आग्रह गरेका थिए । तर नेता श्रेष्ठले सामाजिक सञ्जालमै आफ्नो विमति छताछुल्ल पारे ।श्रेष्ठ प्रतिनिधिसभा सदस्य नभएकाले एमसीसीको विरोधमा संसदमा भने बोल्न पाएनन् तर उनी पक्षीय मानिने नेता गिरिराजमणि पोखरेलले संसदमै एमसीसी पास नगर्न आग्रह गर्दै विमति राखेका थिए ।
संसद बैठकमै पोखरेलले भनेका थिए, ‘एमसीसी पारित भएमा नेपालमा विदेशी कम्पनीले समानान्तर सरकार जस्तै सञ्चालन गर्नेछ । एमसीसी एउटा कम्पनी हो, हामीले एकतर्फी घोषणा गर्नुहुँदैन । एमसीसीले विद्युत्माथि सिधा प्रहार गर्न खोजेको छ । विद्युत् ऊर्जालाई उदारीकरणमा लैजाने बाटो खोल्छ । अहिलेसम्म हाम्रो विद्युत् प्राधिकरणले हित नै गरेको छ । एमसीसी विशुद्ध विकासका लागि आएको भए हामीलाई कुनै आपत्ति हुने थिएन । सम्झौतामा यस्ता शर्त छन् जुन नेपालको सार्वभौमसत्ता विरोधी छन् । युक्रेनबाट पाठ सिकौं, नेपाललाई थप युद्धभूमि बनाउनबाट रोकौं, त्यसैले परिमाजर्नन र संशोधन गरेर मात्र पास गरौं । अनुसूची ५ मा भारतको पनि सहमति चाहिने उल्लेख भएकाले यो दुई पक्षीय सम्झौता मात्र होइन ।’
यसरी नेता श्रेष्ठसहित उनको पक्षले खुलेरै सार्वजनिक रूपमै एमसीसीको विरोध गरेकोमा प्रचण्डको चित्त दुखेको थियो । जुन सोमबारको पत्रकार सम्मेलनमा व्यक्त भयो । प्रचण्डले पत्रकार सम्मेलनमै भने, ‘नारायणकाजीजीलाई मैले आफ्नो विचार व्यवस्थित रूपमा राख्नुस् बाहिर नभन्नुस् भनेको हो तर उहाँले बाहिर भन्नुभयो । त्यो भनेपछि सबै जनता उहाँको पक्षमा आउँछन् भन्ने लागेको थियो होला । प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन् । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि ! एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए तर त्यस्तो हुँदैन राजनीतिमा ।’
प्रचण्डले थप्दै भने, ‘महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर एमालेका आधा केन्द्रीय कमिटी लिएर वामदेवजी जानुभयो तर भोट आयो शून्य, उहाँको पार्टीले एक सिट पनि जित्न सकेन । त्यसैले कोही सेन्टिमेन्टमा आउनु हुँदैन भन्ने हो । राजनीति भोलेन्टियर्स कर्म हो कोही कसैलाई जबरजस्ती गर्नु हुँदैन । कसैलाई जबरजस्ती बस भन्न पनि सकिँदैन ।’
प्रचण्डको यस्तो अभिव्यक्तिले नेता श्रेष्ठ पक्षधर झन् असन्तुष्ट बनेका छन् । प्रचण्डले आफ्नो पक्षलाई पार्टी छाडे हुन्छ भन्ने सन्देश दिन खोजेको बुझाइ श्रेष्ठ पक्षधरको रहेको छ । एमसीसीको दुर्घटना रोक्न खोज्दा प्रचण्डसामु अर्काे दुर्घटनाको खतरा आएको छ ।
यस्तो खतरा देखेर नै अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न मंगलवार उनकै निवासमा पुगेका छन् । आगामी शुक्रबार बस्ने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकबारे छलफल गर्न भेटवार्ता भएको भनिए पनि प्रचण्ड नै श्रेष्ठ निवास पुग्नुलाई एमसीसीको असन्तुष्टि र पार्टीभित्रको विवादका रूपमा लिइँदैछ ।
एमसीसीलाई समर्थन गर्ने प्रचण्डको निर्णयमा श्रेष्ठसँगै लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले समेत असहमति जनाएका छन् । यी नेताहरूको प्रभावमा अन्य थुप्रै केन्द्रीय सदस्य समेत एमसीसीविरुद्ध लागेका छन् । एमसीसीको विरोधमा रहेका नेताहरूले पार्टी विभाजन गर्नसक्ने संकेत पाएपछि प्रचण्ड स्वयं श्रेष्ठ निवास पुगेका स्रोतको दाबी छ । संसदमा एमसीसीको छलफल हुँदा महरा, पोखरेल, यशोदा गुरुङ, अन्जना बिशंखे, रेखा शर्मा लगायतले बैठक बहिष्कार गरेका जनाइएको छ ।
नेता श्रेष्ठलाई भेटेर प्रचण्डले एमसीसीमा विवाद भए पनि अन्य कुरामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका स्रोतले जनाएको छ । प्रचण्डले पार्टी एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता नेता श्रेष्ठसामु औल्याएका जनाइएको छ । जवाफमा श्रेष्ठले पार्टी रूपान्तरण हुने अवस्था नदेखिएको बताएको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस