गठबन्धन फुट्ने संकेत : काँग्रेस नेता जुटे ओलीसँग छलफलमा
काठमाडौं । सत्तागठबन्धन भित्र एमसीसी संसदबाट पास गर्ने की नगर्ने विषयले खैलाबैला मच्चाएको छ । एमसीसीको कारणले गठबन्धनमा मतभेद बढिरहेका बेला बिहीबार नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेपछि नेता रिजालले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उक्त भेटवार्तामा एमसीसीको बारेमा अध्यक्ष ओली र नेता रिजालबीच छलफल भएको नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले काठमाण्डुपाटीलाई बताए । काठमाण्डुपाटीसँगको कुराकानीमा नेम्वाङले भने, ‘ आज कांग्रेसका साथिहरुले बालकोट पुगेर ओली ज्युसँग भेटवार्ता गरे छन् । हाल जुन देशको सङ्कटपूर्ण अवस्था छ । यो अवस्थालाई कसरी समाधान गर्ने भन्नेबारे उहाँहरुबीच छलफल भएको हो । अब अध्यक्ष ज्युको पनि यो हालको अवस्थालाई कसरी समाधान गर्ने भनाइ थियो । उता कांग्रेसका साथिहरुले पनि अध्यक्ष ज्युसँग यी नै विषयमा छलफल गर्नु भएको हो ।’ स्रोतका अनुसार पछिल्लो समय काँग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेका छन् ।
एमसीसीबारे निर्णायक छलफल गर्न आज गठबन्धनको बैठक जारी छ । प्रचण्ड र माधव नेपालले आजको बैठकले गठबन्धनको भविष्य निर्धारण समेत गर्ने बताएका छन् । प्रचण्डले भने, ‘गठबन्धनको भविष्य आजको बैठकले तय गर्नेछ । हामी गठबन्धन कसरी जोगाउने भन्ने मा नै केन्द्रित हुन्छौं ।’
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यदि एमसीसी पास गर्न सहयोग नगर्ने भए प्रचण्डलाई सरकारबाट बाहिरिन समेत आग्रह गरेका छन् । अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने बताइसकेको छ । त्यसैगरी अमेरिकाले एमसीसी पास नभए दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस