प्रचण्डको ‘त्यो’ अन्तिम प्रयास, एमसीसी टेबल गर्नबाट यसरी ब्याक भए देउवा
काठमाडौं । आजको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने चेतावनी दिएपछि आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
आज प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि देउवाले भोलिका लागि सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । बिहीबार दिउँसो ३ बजे बैठकले एमसीसीबारे निर्णायक निर्णय लिने बुझिएको छ । योसँगै आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबुल नहुने भएको हो ।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले संसदीमा एमसीसी टेबल गरिए विपक्षमा मतदान गर्ने, राष्ट्रिय सहमति हुनुपर्ने र त्यसो नभए सरकारबाटै बाहिरिने निर्णय गरेको थियो । पार्टीको सोही निर्णय सुनाउन र अन्तिम प्रयासस्वरुप देउवासँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए ।
उनले छलफलका क्रममा आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादी पनि एमसीसीको विपक्षमा रहेको बताएपछि देउवा ब्याक हटेका हुन् । यता सत्ता गठबन्धनमै रहेको जसपाले भने हालसम्म आफ्नो धारणा सार्वजनिक गसिरसकेको छैन । तर, उसले एमसीसीको पक्षमा मतदान गर्ने काँग्रेस नेताहरुको दाबी छ ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ । देउवाले प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले साथ दिए एमसीसी आजै टेबल गर्ने र आजै पारित गराउने तयारी गरेका थिए । उनले आजकै बैठकमा एमसीसी पेस गर्नका लागि प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई सदनमा एमसीसी पेस गर्न प्रस्ताव गरेका थिए । तर, अर्थमन्त्री शर्माले अहिलेकै अवस्थामा एमसीसी पेस गर्न नसकिने अस्वीकार गरे ।
त्यसपछि प्रधानमन्त्री देउवाले संचारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेका थिए । एमसीसी सदनमा पेस गर्नका लागि सभामुख बाधक बन्न नहुने भन्दै मंगलबारको बैठकबाट कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई थ्रेट समेत गरेको थियो । तर प्रचण्ड र नेपालले विपक्षमा मतदान गर्ने बताएपछि आज संसदमा एमसीसी टेबल गर्नबाट प्रधानमन्त्री देउवा ब्याक हटेकाे स्रोतले जानकारी दियो ।
एमसीसीबारे सत्ता साझेदार दलभित्रै विवाद छ । नेपाली कांग्रेस एमसीसी यथास्थितीमा पास गनुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना पास गर्न नहुने पक्षमा छन् । जसपा नेपाल हालसम्म मौन बसेको छ भने राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा सडकमा उत्रिसकेको छ ।
यस्तोमा उनले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न अन्तिम प्रयासस्वरुप आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका थिए । तर देउवा नमानेको खण्डमा उनले सरकारबाट बाहिरिने र त्यसबाट पर्ने सबै असर ब्यहोर्न तयार रहेको बताएका थिए ।
उनले बैठकमा भनेका थिए, ‘आज टेबुल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबर्जस्ती टेबुल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार छौँ, सरकार छोड्ने हो कि गठबन्धन तोड्ने हुन्छ कि परेको व्यहोर्ने हो ।’
एमसीसी सदनमा टेबुल हुनुपूर्व दलहरूबीच राष्ट्रिय सहमति जुट्नुपर्ने र त्यसो नभए आजै सरकारका बाहिरने उनको भनाई थियो । ‘पहिला संसद सुचारु हुनुप¥यो । सहमति हुनप¥यो । सहमति नभइकन पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ, हामी प¥यो भने सरकार छोड्छौँ ।’
त्यस्तै माओवादीले संसदमा एमसीसी पेश गर्न अवरुद्ध संसद् खोल्नुपर्ने माग राखेको छ । नेकपा एमालेको अवरोधका कारण संसद बैठक बस्न सकेको छैन । आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ । आफूले कारवाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले संसद चल्न दिइरहेको छैन ।
माओवादीले संसदमा एमसीसी पेश गर्न गठबन्धन भित्र सहमति हुनुपर्ने वा राष्ट्रिय सहमति हुनुपर्ने शर्त अघि सारेको छ । गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसी संसदबाट अहिले नै पारित गर्ने पक्षमा छैनन् ।
नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसीको पक्षमा रहेको बताइन्छ । तर, मंगलवार भएको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीलाई बोक्न नहुने मत राखेका थिए । एमसीसीका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
माओवादीले संसदमा एमसीसी पेश गर्न त्यसमा रहेको राष्ट्रिय हित विपरितका प्रावधानहरु संशोधन हुनुपर्ने माग राखेको छ । माओवादीले पहिलादेखि नै एमसीसीका केही प्रावधानहरु मागि प्रश्न उठाउँदै आएको छ ।
पछिल्लो समय एमसीसीलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको पत्र र एमसीसीले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि सत्तारुढ गठबन्धन भित्र सकस बढेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस