एमसीसी टेबल समेत गर्न नदिने माओवादी रणनीति,सम्झौता पारित भए सरकारबाट बाहिरिने तयारी


काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल गर्न नदिन र विपक्षमा मतदान गर्न तिव्र दबाव बढेको छ । आज दिउंसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ । त्यो भन्दा अगाडी माओवादीले बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसी टेबल गर्ने पक्षमा भएपनि पार्टीभित्र एमसीसी टेबल गर्न नदिन र विपक्षमा मतदान गर्न दबाव बढेको हो । दाहालले पांच महिनाभित्र एमसीसी पारित गर्ने भन्दै अमेरिकालाई पत्र लेखेको सार्वजनिक भएको थियो । त्यतिमात्र होईन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउंदा कांग्रेससंग एमसीसी टेबल गर्न र पारित गर्ने विषयमा सहमति भएको भनिएको थियो । तर, पछिल्लो समय दाहालले फेरी यथास्थितिमा पारि नगर्ने अडान लिइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने माओवादी केन्द्र र एकीकृत समाजवादीको भुमिकालाई लिएर असन्तुष्ट बनेका छन् । उनले जसरी पनि एमसीसी पारित गर्ने अडान लिएका छन् ।खुमलटारमा मंगलवार भएको बैठकमा नेताहरुले एमसीसी टेबल गर्न नहुने भन्दै विरोध गरेका थिए । माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ,लिलामणी पोखरेल,पम्फा भुसाललगायतले एमसीसी टेबल गर्न नहुने बताउंदै आएका छन् ।

दाहालले निकट नेताहरु बोलाएर एमसीसीको बारेमा छलफल गरेका थिए । नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव,हरिवोल गजुरेल,शक्ति बस्नेतलगायत बैठकमा उपस्थित थिए । उनिहरुले एमसीसी कुनै पनि हालतमा अघि बढाउन नहुने धारणा राखेका थिए ।

माओवादी नेता हरिबोल गजुरेलले राष्ट्रिय सहमति बिना एमसीसी अघि नबढाउने निर्णय भएको बताए । गजुरेलले संसद नखुली एमसीसी अघि बढ्न नसक्ने बताए ।सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी आज टेबल गर्ने बताइसकेका छन् । तर,सत्ता साझेदार दल माओवादी केन्द्रले भने एमसीसी सहमति विना टेबल गर्न खोजिए र पारित गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । त्यतिमात्र होईन एमसीसीको विरुद्धमा माआवादी केन्द्रका भातृ संगठनहरुले समेत आजबाट आन्दोलन सुरु गरेका छन् ।

माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेबल गर्न आग्रह गरेका थिए । तर, उनले त्यसलाई अस्विकार गरेका छन् । उनले टेबल गर्न नमानेपछी यसअघि अर्थमन्त्री हुंदा सम्झौतामा हस्ताक्षर गरेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्ने भएका छन् ।

आज संसद बैठकअघि सभामुख अग्नी सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । माओवादी केन्द्रका सचेतक देव गुरुङ्गले एमसीसी टेबल गर्ने निर्णयको विरोध गर्ने स्रोत बताउंछ । त्यसमा एकिकृत समाजवादीले समेत उनको साथ दिनेछ । त्यसो भएको खण्डमा सभामुखले एमसीसी टेबल नगर्ने सम्भावना समेत बढेको छ ।

एमालेले भने आज पनि संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । एमालेमा समेत एमसीसी विरुद्ध उभिन अध्यक्ष केपी शर्मा ओलीलाई दबाव बढेको छ । अमेरिकाले फागुन १६ भित्र सम्झौंता संसदबाट पारित नभए सम्झौता रद्द हुने बताइसकेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ