प्रचण्ड-माधव नेपालको देउवालाई जवाफ : संशोधन नगरी एमसीसी पास हुन्न
काठमाडौँ – सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार भेटवार्ता भएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल भएको छ ।
स्रोतका अनुसार एमसीसी सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका यी तीन शीर्ष नेताले आ–आफ्नै अडान कायम रोखेका छन् ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । संसदबाट यसको छिनोफानो गरौँ ।’
तर प्रचण्ड र माधव नेपालले एमसीसी संशोधन नगरी संसदबाट अनुमोदन गर्न सहयोग नगर्ने अडान कायमै राखेको स्रोतले जनाएको छ । प्रचण्ड र माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘केही बुँदा संशोधन नगरी एमसीसी पास हुँदैन ।’ अमेरिकाले आफूले दिएको समय सीमा भित्र एमसीसी अनुमोदन गर्न दबाब दिइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस