बालुवाटार पुगेर प्रचण्ड-माधवले देउवालाई भने- एमसीसी पास गर्न सकिँदैन


काठमाडौँ,  सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ । स्रोतका अनुसार भेटमा प्रचण्ड र माधव नेपालले एमसीसी यथास्थितिमा संसदमा टेबल गर्न नसकिने बताएका थिए । उनीहरुले एमसीसीका विषयमा स्थानिय निर्वाचनपछि छलफल गरेर अघि बढाउन सकिने प्रस्ताव राखेका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले आफुले तय गरेको समय सीमाभित्रै एमसीसी जसरी पनि टेबुल गराएर पारित गर्ने अडान दोहोर्याएका थिए ।

अमेरिकाले २० दिनभित्र एमसीसी संसदबाट पारित नगरे फिर्ता लैजाने संकेत गरेको छ । यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीका अध्यक्षलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट परियोजना अनुमोदन गराउने बचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

उनी एमसीसी सम्झौतामा भएका केहि बुंदा संशोधन गरेर मात्र पास गर्नुपर्ने अडानमा छन् । पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।

साथै जसरी पनि यही अवस्थामा एमसिसी पास गर्न देउवा कस्सिए सरकार छाड्ने या के विकल्प खोज्ने भन्नेबारे प्रचण्डले हिजो आफ्नो पार्टीबाट सरकारमा रहेका अर्थ र उर्जा मन्त्रीसहित शिक्षा राज्यमन्त्री बोधकुमारी यादव, मातृका यादवसँग परामर्श लिएका छन् । हिजै दिउँसो प्रचण्डले बालुवाटार पुगेर देउवासँग संक्षिप्त वार्तासमेत गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ