प्रधानमन्त्री देउवा एमसीसी पारित गरेर निर्वाचनमा जाने तयारीमा
अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता सबै मिलेर अघि बढाउने प्रस्ताव
अध्यक्ष पुष्पकमल दाहालले एमसीसीमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर पारित गर्ने प्रस्ताव राखेको स्रोतको दावी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता सबै मिलेर अघि बढाउने प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको बैठकमा उनले एमसीसीमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर पारित गर्ने प्रस्ताव राखेको स्रोतको दावी छ । दाहालले एमसीसी सम्झौतालाई चुनावपछी अगाडि बढाउने प्रस्ताव समेत गरेका थिए ।
तर, उनको प्रस्तावमा प्रधानमन्त्री देउवा र ओलीले सहमति जनाएनन । बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले एमालेले संसद सुचारु गर्न नदिने हो भने चुनावसम्मका लागि यो विषयलाई संयुक्त रुपमा अगाडि बढाउन उचित हुन्छ भन्ने प्रस्ताव गरेको बताए ।
आइतबारको बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको समेत कुरा नमिलेको बताइन्छ । बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेबल गर्नको विकल्प नभएको धारणा राखेका थिए । तर, दाहालले भने संसद सुचारु गर्नुपर्ने र एमसीसीको हकमा चुनावपछी एमालेसहित पारित गर्ने प्रस्ताव गरौं भन्ने धारणा राखेका थिए ।
दाहाल र देउवा दुवैले एमसीसीका पदाधिकारीलाई कुटनीतिक मर्यादाविपरीत गत असोज १३ मा पत्र लेखेर पांच महिनाको समय मागेका थिए । एमसीसीलाई दुवै नेताले पठाएको पत्र आइतबार सार्वजनिक भएको छ । जसमा पांच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसंग सकरात्मक छलफल गर्ने र अनुमोदनका लागि वातावरण बनाउने प्रतिवद्धता जनाइएको थियो । अमेरिकाले फेरी ३ फेब्रुअरीमा पत्र लेख्दै सम्झौता कार्यान्वयको लागि लामो समय कुर्न नसक्ने भन्दै १६ फागुनभित्र संसदबाट एमसीसी अनुमोदन गर्न समयसीमा दिएको हो ।
एमसीसी मुख्यालयको पत्र सार्वजनिक भएसंगै सत्तारुढ दलभित्र भुइंचालो गएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले पछिल्लो समय आफ्नै प्रतिवद्धतालाई भुलेर एमसीसी संशोधन विना पारित गर्न नसकिने अडान लिइरहेका छन् । दाहालको उक्त अडानपछी उनको प्रधानमन्त्री देउवासंग सम्बन्ध बिग्रिएको छ । दाहालले एमसीसीको हकमा दोहोरो भुमिका खेलेको उनिमाथी आरोप छ ।
आइतबारको बैठकमा एमालेले आफ्नो अडान स्पष्ट पारेको छ । एमालेले एमसीसीबारे सत्ता पक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने, एमालेले कारबाही गरेका सांसद नहटाउने सभामुखको बर्हिगमन नगरेसम्म संसद चल्न नदिने र स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने अडान राखेको छ । त्यसमा प्रधानमन्त्री देउवा भने सकरात्मक बनेको बताइन्छ ।
एमालेसंगको संवादपछी प्रधानमन्त्री देउवा एमसीसीलाई संसदबाट पारित गर्न अन्तिम छलफलमा जुटेका छन् । सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसमा साथ नदिने संकेत पाएसंगै उनले प्रमुख प्रतिपक्ष दलसंग संवाद अघि बढाएका हुन । सभामुख अग्निप्रसाद सापकोटा समेत एमसीसी टेबल गर्न सहमत छैनन । कानुनमन्त्री दिलेन्द्र बडुसंगको आइतबार भएको छलफलमा समेत उनले संसद सुचारु नभई कुनै पनि विषयमा छलफल गर्ने अवस्था नभएको बताएको स्रोतको दावी छ । सापकोटाको भनाईबाछ समेत उनि एमसीसी सम्झौता टेबल गर्न अनिच्छुक रहेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न गठबन्धन समेत तोड्ने निष्कर्शमा पुगेको स्रोत बताउंछ । उनले त्यो संकेत माओवादी केन्द्रका अध्यक्ष दाहाललाई समेत दिएका छन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गरेर निर्वाचनमा जाने तयारीमा छन् । त्यसका लागी गठबन्धनभित्रबाट सहयोग नपाए बाहिरबाट सहयोग लिएर भए पनि अघि बढ्ने योजनामा छन । यससंगै सत्तारुढ गठबन्धन टुट्ने संघारमा पुगेको छ ।
माओवादी र एकीकृत समाजवादीभित्र एमसीसी पारित नगर्न अध्यक्ष दाहाल र माधव कुमार नेपाललाई नेताहरुको दबाव छ । दुवै दलभित्र बरु सरकार छोडनुपर्ने तर एमसीसी पारित गर्न नहुने जनमत बन्दै गएको छ । प्रधानमन्त्रीले एमसीसी पारित गर्नको लागी सबै विकल्पमा छलफल सुरु गरेका छन् । एमसीसी टेबल गर्न सभामुख बाधक बने उनलाई हटाएर पनि अघि बढ्ने तयारीमा प्रधानमन्त्री रहेको निकट स्रोत बताउंछ । त्यसका लागी उनले काुनुनमन्त्री, संचारमन्त्री र महान्यायाधिवक्तासंग समेत सभामुखको बर्हिगमनबारे छलफल गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस