गोप्य पत्र’ लिक भएपछि चौतर्फी आलोचना, देउवामाथि खनिए प्रचण्ड


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरूको आलोचना भइरहेको छ ।

पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् ।देउवा र प्रचण्डले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसीसीलाई पत्र लेखेको भन्दै सामाजिक सञ्जालमा उनीहरुको व्यापक आलोचना भइरहेको हो ।

अर्थ मन्त्रालयका एक सह–सचिवले पठाउँदा हुने पत्र देशको कार्यकारी प्रमुख र अर्का पूर्व प्रधानमन्त्रीले संयुक्त रुपमा पठाउँदा देशको मान/प्रतिष्ठामा आँच आएको बुझाई धेरैको छ ।‘वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री आफैले पत्र नपठाएको भएको हुन्थ्यो । यो काम अर्थ मन्त्रालयमार्फत गराएको भए राम्रो हुन्थ्यो,’ माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने ।

संसदबाट एमसीसी सहयोग अनुमोदन गर्ने विषयलाई लिएर अहिले सत्तारुढ दलहरूभित्र मतभेद बढेको छ । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै संसदबाट अनुमोदन गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सम्झौता केही संशोधन गर्नुपर्ने अडानमा छन् ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभिन्नता बढीरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा लेखेको गोप्य पत्र सार्वजनिक भएको हो । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीको अध्यक्षलाई किन पत्र लेख्नुभयो बुझ्न सकेको छैन,’ नेता श्रेष्ठले भने ।

पूर्वराजदूत दिनेश भट्टराई पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले सिँधै एमसीसीको अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्न नहुनेमा सहमत छन् ।

पदमा बसेका व्यक्तिले भेटघाट र पत्र लेख्दा आफ्नो मर्यादाको ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘वहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले बोलेको कुरा त अन्तिम हुन्छ,’ देउवा चौथो पटक प्रधानमन्त्री हुँदा उनको विदेश मामिला सल्लाहकार समेत रहेका भट्टराईले भने ।

तोडिँदै सत्ता गठबन्धन

अन्ततः सत्तारुढ गठबन्धन ताडिने निश्चित प्राय भएको छ । एमसीसी सम्झौताका विषयमा अमेरिकालाई पठाएको गोप्य पत्र लिक भएसँगै सत्ता गठबन्धन फुटको डिलमा पुगेको हो । प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीको विषयमा चर्काचर्की भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पत्र लिक गरेको भन्दै प्रश्न उठाएपछि उनीहरुबीच टेलिफोन वार्तामै चर्काचर्की भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसहितको बैठक राखेका छन् ।

देउवासँगको टेलिफोनमा कुराकानी गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भए मात्र आफू आउने जवाफ दिएका छन् । तर, माधव नेपाल सहभागी भए ओली अनुपस्थित हुने भएपछि देउवा तयार भएनन् ।

प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने जवाफ दिएको बुझिएको छ । तर, देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमानेको संकेत गरेपछि प्रचण्डले गठबन्धन तोडिने संकेत गरेका छन् । उनले एमसीसीको पक्षमा जान नसक्ने स्पष्ट जवाफ दिदै गठबन्धन छाड्न तयार भएको जवाफ दिएका थिए ।एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । यसले गठबन्धन नै धरापमा परेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ