आज अपराह्न ४ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने

देउवा प्रधानमन्त्री बनेपछि पहिलाेपटक बालुवाटार जाँदै एमाले अध्यक्ष ओली

ओली प्रधानमन्त्रीबाट हटेपछि झण्डै सात महिनामा पहिलोपटक बालुवाटार जाँदैछन्


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचन, एमसीसीलगायत पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतालाई अगाडि बढाउन निर्णायक पहल गरिरहेका छन् । तर सत्ता साझेदार दलभित्रै यसबारे समझदारी बन्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समेत राखेर छलफल गर्ने तयारी गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले माधव नेपाललाई बोलाए आफू त्यो बैठकमै नबस्ने बताएका छन् ।

त्यसैले आजको बैठकमा माधव नेपाललाई बोलाइएको छैन् । तर प्रचण्डले माधवलाई जसरी पनि बोलाउनु पर्ने र नबोलाइए आफु पनि सहभागी नहुने अडान राखेका छन् । यस्तोमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मात्रै भेटवार्ता हुने सम्भावना छ ।

प्रधानमन्त्री देउवाले यसअगाडि पटकपटक राखेको सर्वदलीय बैठकमा ओली उपस्थित भएका थिएनन् । ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए ।

ओली प्रधानमन्त्रीबाट हटेपछि झण्डै सात महिनामा पहिलोपटक बालुवाटार जाँदैछन् । अपरान्ह ४ बजे बालुवाटारमा हुने आजको छलफललाई अर्थपूर्ण मानिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ