एमसीसी विवादले चुनावको मिति घोषणामा ढिलाई
काठमाडौं । सत्ता गठबन्धन दलहरुभित्र एमसीसी पास गर्ने की नगर्ने विवादले स्थानीय तहको मिति घोषणामा अलमल देखिएको छ । गठबन्धन दलहरुभित्र जठ मै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटे पनि मिति घोषणामा अलमल देखिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग पदाधिकारीसँग निर्वाचनको मितिबारे परामर्श लिएर जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमती गरेपनि हालसम्म चुनावको मिति तोकिएको छैन् ।
प्रधानमन्त्री देउवाले अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भन्दै त्यसकालागि तयारी अघि बढाउन निर्देशन समेत दिएका थिए । यता निर्वाचन आयोग भने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकाे थयाे । तर एमसीसी विवादले नै गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेको स्रातले जनाएको छ ।
स्रोतका अनुसार गठबन्धन दलहरुले एमसीसीबारे सहमती नजुटाउँदा स्थानीय तहको निर्वाचनको मिति तोक्न ढिलाइ भएको हो । सरकारले एक-दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचनका लागि कम्तिमा ९० दिनको समय चाहिने जानकारी निर्वाचन आयोगले दिइसकेको छ ।
स्रोतका अनुसार हाल आयोगले प्रस्ताव गरेकै जेठ चार गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा जुटेका छन् । अब बस्ने मन्त्रिपरिषद बैठकवाट निर्वाचन मिति घोषणा गर्ने गरि तयारी भैरहेको बताइएको छ । सम्भवत अगामी सोमबार बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचन मितिबारे निर्णय गर्ने स्रोतको दावी छ ।
यता नेकपा (एमाले)ले सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलन गर्ने चेतावनी दिएको छ । चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्ने एमालेले जनाएको छ । यदि सरकारले आज स्थानीय तहको मिति नतोके सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् । स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ ।
तपाईको प्रतिक्रिया दिनुहोस