संविधान संशोधन गर्न हतार गर्नुहुन्न : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन्।  

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

‘गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ। त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन,’ उनले भने।

बडो दुःखले बलिदानपूर्ण लामो संघर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो। उनले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुईपटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राखे।

आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उनले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गरे। नेम्वाङले पुनर्स्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुप्रै युगान्तकारी निर्णय गरेको बताए।

उनले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्नेमा जोड दिए। प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उनको भनाइ छ।

आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने वेला आएको धारणा व्यक्त गरे। देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ