काठमाडौं – पार्टीभित्रको विवाद तन्किँदै गएको छेकोमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबारदेखि बस्दैछ । काठमाडौंमा हुने बैठकमा पेचिलो छलफल हुने प्रारम्भिक छनक देखिएको छ ।
खासगरी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुला राजनीतिमा फर्किएका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाएर भित्र्याउने तयारी गरेसँगै उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा असन्तुष्ट बनेको टिप्पणीहरू भइरहेका छन् । यही कारण एकअर्काका प्रतिस्पर्धी एवं महासचिवका दाबेदार पुन र शर्मा एक ठाउँमा उभिन आइपुगेका छन् । गत महाधिवेशनमा दुवैले महासचिव बन्न लबिङ गरेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाएर उनीहरूलाई उपमहासचिवमा सिमित गरेका थिए । गत महाधिवेशनमा एकले अर्कालाई महासचिव नस्वीकार्दा दुवैले त्यो पद पाउन सकेका थिएनन् ।
विप्लवको इन्ट्रीले फेरिएको परिस्थितिमा बैठकमा पुन र शर्मा कसरी प्रस्तुत होलान् त ? माओवादी नेताहरूका अनुसार, पार्टीभित्र पुन र शर्मा दुवैको बलियो गुट छ । यी दुई नेता नै एक ठाउँमा उभिए प्रचण्डमाथि गतिलै दबाब सिर्जना हुन सक्छ ।
तर, सरकारले चालेका भ्रष्टाचारविरुद्धका कदमका कारण सरकार र त्यसको नेतृत्वले अहिले प्रशंसा पाइरहेको छ । यस्तो अवस्थामा पुन र शर्माले काँध मिलाउँदैमा त्यसको दबाबमा प्रचण्ड परिहाल्लान् भन्ने स्थिति देखिएको छैन ।अर्काेतर्फ बैठकको सम्मुखमा माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनमाथि प्रश्न उठिरहेको समय छ । माओवादीकै एक केन्द्रीय नेताका अनुसार, यस्तो अवस्थामा प्रशंसा पाएको सरकारको नेतृत्व गरेका प्रचण्ड गलिहाल्ने अवस्था छैन ।
माओवादीभित्र तन्किएको विवादका बीच पदाधिकारी बैठकबाट प्रचण्डले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गराए । बैठक लाइभ गर्ने निर्णय गराएर प्रचण्डले केन्द्रीय कमिटीमा जुन रूपमा प्रश्न उठ्छ, त्यही रूपमा जवाफ दिन म पनि तयार छु भन्ने सन्देश दिएका छन् । यसको अर्थ प्रचण्डले पुन र शर्माको पछिल्लो ‘जुगलबन्दी’लाई राम्रैसँग विश्लेषण गरेका छन् । तर, प्रचण्डले पुन र शर्मालाई कम आँकेका त छैनन् ? यसको निर्क्यौल भने बैठकले नै गर्नेछ ।
अर्कातर्फ, प्रचण्डसँग आफूले नेतृत्व गरेको सरकारले चालेका कदम ‘पुँजी’का रूपमा रहनेछ । साथै पार्टीमा ‘एकछत्र राज’ गरेका प्रचण्डलाई ठाडै चुनौती दिन सहज पनि देखिएको छैन ।
विवादमा पुन र महरा
केन्द्रीय कमिटी बैठक सुरु हुनु ठिकअघि उपमहासचिव पुन विवादको घेरामा परे । करिब १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुन र माओवादी नेताहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जालहरूमा व्यापक प्रश्न उठेको छ । सामाजिक सञ्जालहरूमा माओवादी नेताहरूसँग दावाको पारिवारिक पहुँच देखाउने तस्वीरहरू ‘भाइरल’ भइरहेका छन् । पुनले यसबारेमा प्रस्टीकरण पनि दिइसकेका छन् ।
आइतबारको पदाधिकारी बैठकमा पनि पुनले यो विषय उठाएका थिए । यो प्रकरणमा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताएका पुनले आठ वर्ष पहिलाको फोटालाई प्रयोग गरेर चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन् । तर, उनले दाबी गरेझै दावापत्नी अमला राेका राेल्पाली चेली भए पनि सहिद परिवारकाे सदस्य भने नभएकाे खुलेकाे छ । माओवादी नेताहरू वर्षमान, पूर्वउपराष्ट्रपति नन्दकिशाेर पुन परिवारसँग राेका र दावाकाे सम्बन्ध अस्वभाविक देखिएकाे छ । त्यत्तिकै भरमा आरोपित गर्न नमिले पनि उठबस भने शंकास्पद देखिन्छ । वर्षमान पुन मन्त्रीछँदै पनि दावासँगको सम्बन्धका कारण आलोचित थिए । दावा गैरकानूनी गतिविधिमा उनको संलग्नता केकति छ वा छैन त्यसमा अनुसन्धान भने भएको छैन ।
पुन मात्र होइन, सुन तस्करी प्रकरणमा उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पनि जाेडिएका छन् । महरा बाबुछोरामाथि भने भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारीसँगको सम्बन्धलाई लिएर प्रश्न उठेको हो । ती चिनियाँ व्यापारीसँग महरा र राहुलले बारम्बार सम्पर्क गरेको भन्दै उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीमाथि दबाब छ । तस्करीमा संलग्न व्यापारीसँग महरा बाबुछोराले १ सय ३५ पटकभन्दा बढी फोन सम्पर्क गरेको पाइएपछि उनीहरु शंकाको घेरामा छन् ।
बैठक लाइभ गर्ने निर्णयको विरोध
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रले पनि त्यसैको सिको गर्दै बैठक लाइभ गर्ने निर्णय गर्यो । तर, यो निर्णप्रति पदाधिकारी नै असन्तुष्ट देखिन्छन् । यद्यपि, पदाधिकारी स्वयंले यस विषयमा खुलेर टिप्पणी गरेका छैनन् । तर, उनीहरूनिकट नेताहरूले भने यसको विरोध गरेका छन् ।
केन्द्रीय सदस्य अनिल शर्माले बैठक लाइभ गर्ने निर्णयको विरोध गरेका छन् । उनी उपमहासचिव शर्माका भाइ हुन् । अनिलले बैठक लाइभ गर्ने निर्णयलाई अरुको पछि लागेर र लहडका भरमा गरिएको टिप्पणी गरेका छन् । ‘अरुको पछि लागेर लहडमा गरिएको यो निर्णयले कि त बैठकलाई सामान्य औपचरिकतामा सिमित गर्दै केन्द्रीय समितिलाई निकम्मा बनाउन खोजिँदै छ कि बैठकहरूलाई एउटा दिर्घकालीन दुस्चक्रमा फसाइँदै छ,’ अनिलले सामाजिक सञ्जालमै लेखेका छन्, ‘बेलैमा होसियार बन्ने कि । हाम्रा पदाधिकारीहरूलाई यसैमार्फत सुझाव दिन चाहन्छु ।’
केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि बैठक लाइभ गर्ने निर्णयको विरोध गरेका छन् । ‘पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरंग छलफल लाइभ गर्ने विषय होइनन् । ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ,’ सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य डीपी ढकाल पनि बैठक लाइभ गर्ने निर्णयको विपक्षमा छन् । ‘सेलीब्रेटीका हिसाबले ठीक होला । पार्टीको बैठकमा नेताहरूले सुनाउनुपर्ने धेरै कुराहरू हुन्छन् । आवेग हुन्छ । बैठक लाइभ गर्दा मन खोलेर छलफल हुने बाटो बन्द हुन्छ,’ ढकाल भन्छन्, ‘लाइभ गर्दा पार्टीभित्र जिवन्त छलफल मार्छ । दुनियाँलाई सुनाउन नमिल्ने कुरा पार्टी नेताहरूलाई सुनाउनुपर्ने हुन्छ । सुनाउने कि नसुनाउने भन्ने नैतिक संकट पर्छ । यो औपचारिक रूपमा राम्रो देखिए पनि पार्टी जीवनको लागि राम्रो हुँदैन ।’
पदाधिकारी बैठकमै गएनन् गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुन् । तर, उनी नै केन्द्रीय कमिटी बैठकअघि बसेको पदाधिकारी बैठकमा गएनन् । श्रेष्ठले स्वास्थ्य समस्या देखाएर बैठकमा सहभागी नभएको सचिव देवेन्द्र पौडेलले बताए । ‘उहाँले नै प्रधानमन्त्री तथा अध्यक्ष कमरेड विदेश हुँदा पदाधिकारी बैठक बोलाउनुभएको हो । तर, हिजोको पदाधिकारी बैठकमा स्वास्थ्यका कारण उपस्थित नहुनु भएको हो,’ पौडेल भन्छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस