काठमाडौंमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा झन्डै आधा मात्र घरजग्गाको कारोबार भएको छ।
२०७८/७९ को तुलनामा २०७९/८० मा घरजग्गा कारोबार ५२ प्रतिशतले घटेको हो।
२०७८/७९ मा कुल ५२ हजार चार सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। २०७९/८० मा भने २४ हजार आठ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार घरजग्गा कारोबारसँगै कित्ताकाट संख्या पनि घटेको छ।
२०७८/७९ मा काठमाडौंमा १२ हजार ७ सय ८७ संख्यामा जग्गा कित्ताकाट भएको थियो। यस्तो संख्या २०७९/८० मा ६ हजार ६ सय ९४ छ।
घरजग्गा कारोबार कम भएसँगै सरकारले पाउने राजस्वमा पनि धक्का पुगेको छ। राजस्व २०७९/८० मा ५२ प्रतिशतले नै घटेको छ।
२०७८/७९ मा काठमाडौंमा घरजग्गा किनबेच बापत सरकारलाई १९ अर्ब ६५ करोड रूपैयाँ आम्दानी भएको थियो। आर्थिक वर्ष २०७९/८० मा नौ अर्ब २८ करोड रूपैयाँ मात्र आम्दानी भएको छ।
आर्थिक वर्ष २०७९/८० को सुरूआती चरणदेखि नै घरजग्गा कारोबार सुस्ताएको थियो।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकियो। त्यसले घरजग्गा व्यवसायमा झनै असर पार्यो।
अर्को, बैंकको ब्याजदरमा भएको वृद्धिसँगै कर्जा लगानीमा भएको सुस्तताले यसमा प्रभाव पारेको थियो।
पछिल्लो समय यी समस्या समाधान उन्मुख हुँदै केही सुधार देखिए पनि घरजग्गा कारोबार माथि उठ्न सकेको छैन।
तुलनात्मक रूपमा काठमाडौंका घरजग्गा बढी मूल्यका भएकाले कारोबार बढ्न नसकेको घरजग्गा व्यवसायी विनोद सुवेदीले बताए।
‘आर्थिक मन्दीका कारण घरजग्गा कारोबार बढ्न सकेको छैन। त्यसमाथि काठमाडौंका जग्गा धेरै महँगा छन्,’ उनले भने।
काठमाडौंबाहिरका घरजग्गा सस्तो हुने भएकाले अत्यावश्क बाहेकको लगानी काठमाडौंबाहिर नै हुने गरेको उनको भनाइ छ।
‘पछिल्लो समय रेमिटेन्स राम्रो छ। तर त्यसले काठमाडौंमा जग्गा किन्न पुग्दैन,’ उनले भने, ‘प्रायः त्यो पैसाबाट काठमाडौं बाहिर नै जग्गा किन्ने हुन्।’
घरजग्गा कारोबारमा थोरै सुधार देखिन थालेको भए पनि तत्काल यसले गति नलिने उनले बताए।
‘अहिले अलिअलि घरजग्गा कारोबार हुन थालेको छ तर यसले गति लिन अझै एक वर्ष लाग्छ,’ सुवेदीले भने, ‘सबै अवस्था सामान्य भएपछि मात्रै घरजग्गामा लगानी बढ्ने हो।’
अहिले बैंकले पनि घरजग्गामा भन्दा अन्यत्र कर्जा प्रवाह गरेको उनले बताए।
काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० कै सबैभन्दा बढी जग्गा किनबेच असारमा भएको छ।
विभागको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा असारमा दुई हजार ६ सय २२ संख्यामा घरजग्गा कारोबार भएको छ।
त्योभन्दा अघिल्लो महिना, जेठमा दुई हजार पाँच सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना, साउनदेखि नै काठमाडौंमा घरजग्गा कारोबार सुस्त थियो। साउनमा १६ सय ५५ संख्यामा भएको कारोबार भदौमा भने एक्कासि बढेर दुई हजार पाँच सय ११ संख्या पुग्यो। तर यो कारोबारले निरन्तरता पाउन पाउन सकेन।
असोजमा आएर आएर पुनः घट्यो। कात्तिकमा पनि उस्तै कारोबार भयो। असोजमा एक हजार पाँच सय ९६ संख्यामा कारोबार भएको थियो भने कात्तिकमा एक हजार पाँच सय ४७ संख्यामा कारोबार भयो।
मंसिरमा भने घरजग्गा किनबेच थोरै उकालो लागेको थियो। मंसिरमा एक हजार नौ सय ८ संख्या र पुसमा एक हजार नौ सय ९ संख्यामा कारोबार भयो।
माघ फेरि केही बढेर दुई हजार एक सय ९० संख्यामा पुग्यो। फागुनमा दुई हजार एक सय ९६ संख्यामा कारोबार भयो।
चैतमा दुई हजार दुई सय ५५ संख्यामा भएको कारोबार वैशाखमा एक हजार नौ सय २१ संख्यामा भयो।
यसरी निरन्तर ओरालो लागिरहेको घरजग्गा कारोबार जेठ र असारमा थोरै सुधारिएको थियो।
आर्थिक वर्ष २०७९/८० मा समग्र देशको घरजग्गा किनबेच संख्या पनि कम छ। आर्थिक वर्ष २०७८/७९ मा देशभर ४७ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा ४४ हजार चार सय ८५ संख्यामा कारोबार भएको विभागको तंथ्याक छ।
तपाईको प्रतिक्रिया दिनुहोस