सुदूरपश्चिम सरकारले ल्याएको बजेट विवादित: आरजुको घर मर्मतका लागि १० लाख बिनियोजन


काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको धनगढीस्थित घर मर्मतका लागि १० लाख छुट्याएको पाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाकी पत्नी आरजुको घरमा मन्त्री निवास मर्मत लागि भन्दै १० लाख रुपयाँ बिनियोजन गरेको पाइएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट बिनियोजन गरेको थियो ।

जसअनुसार प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुकोे घर मर्मत लागि १० लाख रुपैया छुट्टयाएको हो। हाल उक्त घरमा भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा एम आरजुका भतिजा बस्ने गर्छन । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढमा आवद्ध दलहरु नै प्रदेश सरकारले ल्याएको बजेटको विरुद्धमा उभिएका छन् ।

गठबन्धनमा आवद्ध तीन दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरिसकेका छन् । सोमबार कांग्रेस बाहेकका तीन सत्तारुढ दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका थिए । आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरिएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको तीन दलको निष्कर्ष छ ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ