काठमाडौं महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक


काठमाण्डु – काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले सोमबार (भाेलि)बाट महानगरभित्रका हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।

मेयर शाहले केही दिनअघि भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको एक डायलगको विषयलाई लिएर तीनदिन भित्र हटाउन र नहटाएमा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिएको छ । तर, नेपाल बाहिर फिल्मको प्रदर्शनका उक्त डायलगलाई जस्ताको त्यस्तै राखिएको छ ।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने उक्त् डायलग महानगरले दिएको समयमा नहटाएपछि काठमाडौंभित्रका हलहरुमा हिन्दी फिल्म चल्न नदिने भएको हो । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । ’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बालेनको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ