मधेसदेखि पश्चिम तराईमा तापक्रम अझै ४० डिग्रीमाथि, तत्काल गर्मी नघट्ने


वर्षा र बदलीका कारण पहाडी क्षेत्रसँगै पूर्वी तराईको तापक्रम क्रमशः घट्दै जाँदा जनजीवन सहज बनेको छ। तर, मधेस प्रदेशको पश्चिमी क्षेत्रदेखिका पश्चिमी तराईमा भने तत्काल तापक्रम घट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको जनाएको छ। साथै, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो तराई भूभागमा अत्यधिक गर्मीको सम्भावना अझै कायमै रहेको उल्लेख गरिएको छ। बागमतीको तराई क्षेत्र र मधेस प्रदेशको पश्चिमी भूभागमा तापक्रम थोरै घटे पनि अत्यधिक गर्मी नै छ। त्यसैले, ती भूभागमा १ असारसम्म तातो हावा (लू)को सम्भावना यथावत छ।

कोसी प्रदेशसँगै मधेसका पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ। तर, पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचमा पनि तापक्रम यथावत् रहने ठानिएको छ। कोसी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घटिरहेको हो।

नेपालको तराई क्षेत्रमा पछिल्लो आधा महिनादेखि लू चलिरहेको छ। पूर्वी नेपालको तराईसहित मध्य नेपालको पहाडी क्षेत्रमा वर्षाका कारण तापक्रम केही घट्दै गएको छ।

facebook sharing button


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ