गेटामा मेडिकल विश्वविद्यालय माग्दै आन्दोलन


कैलालीका स्थानीय बासिन्दा र अन्य सरोकारवालाले गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न दबाब दिँदै आन्दोलन सुरु गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गेटामा मेडिकल कलेजको साटो स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

मेडिकल कलेजका नाममा गेटामा करिब पाँच अर्ब रुपैयाँ लागतमा भवनलगायत संरचना निर्माण गरिएका छन् । कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अन्योलले ढिलाइ हुँदा संरचना जीर्ण बन्ने जोखिम छ । सरकारले २९ माघमा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर, उक्त निर्णयअनुसार बजेट भने आएन । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै धनगढी–अत्तरियामा दबाबमूलक आन्दोलन थालिएको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने आफूहरूको माग रहेको बताए । ‘यहाँका नागरिकको माग मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भन्ने हो । सरकारले निर्णय पनि गरिसकेको थियो,’ पाण्डेयले भने, ‘अहिले बजेटमा विश्वविद्यालय हटाएर प्रतिष्ठान बनाउने कुरा आएको छ । यो विषय हामीलाई स्वीकार्य छैन ।’ बजेटअघि नीति तथा कार्यक्रममा भने गेटामा मेडिकल विश्वविद्यालयका लागि आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो । ‘मेडिकल विश्वविद्यालय बनाउने निर्णय सरकारले गरिसकेको हो । प्रधानमन्त्रीले गत फागुनमा स्थलगत निरीक्षणका क्रममा पनि मेडिकल विश्वविद्यालय निर्माणको प्रक्रिया तीव्र रूपमा अगाडि बढाउने बताउनुभएको थियो,’ पाण्डेयले भने, ‘अहिले आएर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनियो ।’

प्रशासन कार्यालयमा धर्ना
मेडिकल विश्वविद्यालयको माग गर्दै आन्दोलनरत स्थानीयले जिल्ला प्रशासन कार्यालयमा आइतबार धर्ना दिएका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार राजनीतिक दलका नेताहरूको सहभागितामा धनगढीमा सडक बहस गरिने संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले बताएका छन् । संघर्ष समितिले यसअघि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । आन्दोलनमा राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।

गेटासमेत पर्ने क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले १ जेठमा गेटामा मेडिकल विश्वविद्यालय चलाउने सरकारको क्षमता नरहेको बताएका थिए । मेडिकल विश्वविद्यालयका नाममा सुदूरपश्चिमका जनतामाथि अन्याय भएको भन्दै उनले गेटामा मेडिकल कलेज खोल्नुपर्ने धारणा राखेपछि विरोध भएको थियो ।

पटक–पटकको घोषणा भएन कार्यान्वयन
विश्वविद्यालय, प्रतिष्ठान वा मेडिकल कलेज कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने भन्ने अन्योलले करोडौँ लागतका संरचना लामो समयदेखि अलपत्र परेका छन् । प्रयोगविहीन हुँदा संरचना जीर्ण बन्ने जोखिम छ । ‘मोडालिटी’ नटुंगिए पनि सरकारले गत वर्ष जेठमा गेटामा मेडिकल कलेजका लागि शिक्षण अस्पताल सञ्चालन गर्ने
निर्णय गरे पनि अहिलेसम्म अस्पताल सञ्चालन हुन सकेको छैन । आवश्यक बजेट र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत वर्ष ३० जेठमा गेटामा मेडिकल कलेज सञ्चालनको प्रयोजनका लागि तीन सय शड्ढयाको शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीलाई अस्पताल निर्देशकका रूपमा खटाएको छ । तर, अस्पताल सञ्चालनको तयारी भने अगाडि बढ्न सकेको छैन ।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ