यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका


काठमाण्डु-प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग वार्ता गर्नेछन् । उक्त वार्ता हैदरावाद हाउसमा हुने जनाइएको छ ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री दाहाल जेठ २० मा नेपाल फर्किने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ