हिरासतबाटै खाणलाई टेकनारायणले भने- पैसा फिर्ता गरेर प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्


काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई लिखित सूचना पठाएको पाइएको छ ।

यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन गृहसचिव पाण्डेलाई २० वैशाखमा पक्राउ गरेको थियो । खाँण भने २७ वैशाखमा पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोगपत्रअनुसार पूर्वगृहमन्त्री खाण पक्राउ पर्नुअघि नै तत्कालीन गृहसचिव पाण्डेले हिरासतबाटै पठाएको लिखित सूचना खाँणको साथबाट प्रहरीले बरामद गरेको थियो ।

उक्त सूचनामा खाँणलाई जोगाउन प्रधानमन्त्रीलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने, केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी इन्कारी बयान गराउन आग्रह गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले लिखित सूचनाको परीक्षण गरेको थियो, जुन पाण्डेकै हस्तलिखित भएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।खाँणले पूर्वसभासद आङटावा शेर्पालाई प्रहरी हिरासतमा रहेका सानु र केशवलाई भेट्न पठाएर रकम फिर्ता गर्ने भन्दै बयानमा आफूलाई नपोल्न भनेका थिए ।

सानु र केशव सहमत भएपछि शेर्पाले ३० लाख रुपैयाँ सानुका दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको घटना विवरण कागज र भरपाई कागजबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

प्रहरीको दाबी अनुसार खाँणले केशव र सानुबाट १ करोड २४ लाख रुपैयाँ नगद बुझेका थिए । साथै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने आपराधिक समूहमै खाँण संलग्न भएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

खाँणले तत्कालीन गृहसचिव पाण्डे, केशव दुलाल, नरेन्द्र केसी र आङटावा शेर्पालाई परिचालन गरेर संगठित ठगी, सरकारी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकूल काम गरेको अभियोगपत्रमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ