सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक


कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार पत्रकार सम्मेलन गरी १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् । गत माघ २७ गते नियुक्त भएका शाहले आफ्ना उपलब्धिलाई १४ बुँदामा समेटेर सार्वजनिक गरेका छन् ।

१०० दिने उपलब्धिमा भौतिक पूर्वाधार विकासमा बढोत्तरी भएको, वन पैदावार उत्पादन वितरण एवं वन क्षेत्र अतिक्रमण नियन्त्रण भएको, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथामिकीरण गरेको, अनुशासित र जवाफहेही प्रणालीको सुरुवात भएको, वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बीजारोपण गरिएको उल्लेख छ ।

त्यसैगरी अपर कर्णाली हाइड्रो पावरको निरीक्षण गरेको, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको विशेष पहल गरेको, उद्यमशीलता प्रवर्द्धन क्षमता विकास र खेलाडी सम्मान गरेको, सुरक्षा निकायलाई सहयोग र समन्वय गरेको, सूचना सञ्चार क्षेत्रको विकास र साझेदारी गरेको, विभिन्न द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारसँग प्रदेशको आवश्यकता र प्राथमिकता उपर परामर्श गरेको, धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन र विपत् जोखिम न्यूनीकरण सहित १४ बुँदे कामलाई मुख्यमन्त्री शाहले प्रमुख उपलब्धि रहेको बताएका छन् ।

त्यस्तै, प्रदेश सरकारले यो अवधिमा २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक बनाएको, ३६ वटा खानेपानी आयोजना, ३ वटा सडक पुल र १ झोलुङ्गे पुल, १२ सय २६ हेक्टरमा थप सिँचाइ सुविधा, १५० केजी खोटो, ५ लाख केजी जडीबुटी सङ्कलन र ४५ हजार बिरुवा रोपेको प्रगति विवरण सार्वजनिक गरिएको छ ।

यसबाहेक १८ किलोमिटर नहर निर्माण, १६.८८ किलोमिटर तटबन्ध निर्माण गरेको सरकारको भनाइ छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस अवधिमा पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशत पु-याइएको दाबी गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ