दार्चुलामा हिमपहिरोमा परि ज्यान गुमाएका ३ जनाको शव सदरमुकाम ल्याईयो


दार्चुला : हिमपहिरोमा परेर ज्यान गुमाएका ३ जनाको शव सदरमुकाम ल्याईएको छ । जिल्लाको ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएकाहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याईएको हो ।

मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार फेला परेको थियो । तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

शव साँझ साढे ६ बजे सदरमुकाम खलंगा ल्याइपु¥याइएको हो,’ उनले भने, ‘पोस्टमार्टमपछि आफन्तहरूको जिम्मा लगाइने छ ।’ अहिले शवलाई अस्तालमा राखिएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव सदरमुकाम ल्याइएको हो । हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिमपहिरो खस्दा ५ जना बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ