स्थानीय तहका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना


नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा भर्ना अभियान सुरु भएको छ । कतिपय पालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेका छन् । यस्तो निर्णय गर्नेमध्येका कपिलवस्तुको शिवराज र कैलालीको घोडाघोडी नगरपालिकाका मेयर तथा तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्षले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

शिवराज नगरपालिका मेयर अजय थापाले आफ्नी छोरी एन्जललाई खैरेन्द्रपुरमा रहेको समयथान मावि कक्षा ८ मा भर्ना गरेका हुन् । उनकी छोरी अंशबाहिनी एकेडेमी इंग्लिस स्कुलमा पढ्थिन् । मेयर थापाले निःशुल्क शिक्षा कार्यान्वयन आफैँबाट गर्नुपर्छ भनेर यो कदम चालेको बताए ।

उनका अनुसार सामुदायिक विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउनका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भएकाले शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन, २०७९ बनाइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खड्कबहादुर रावतले छोरा आयुषलाई पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माविमा शिशु कक्षामा भर्ना गरेका छन् । विद्यार्थी भर्ना अभियानका क्रममा रावत आफैँ विद्यालय पुगेर छोरालाई विद्यालयमा भर्ना गराएका हुन् ।

सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी भर्ना नगरेसम्म सरकारी विद्यालयको गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सबै लाग्नुपर्ने उनले बताए । रावत कान्ति राज्यलक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पनि दुईजना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्  ।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ