विद्यार्थी अभाव झेल्दै विश्वविद्यालयहरू

केयूमा चिकित्सा शिक्षामा पनि कोटाभन्दा कम विद्यार्थी


काठमाडौं विश्वविद्यालयमा समग्रमा करिब २२ प्रतिशत कोटा रिक्त छन्, चिकित्सा शिक्षाका एमबिबिएस, बिडिएसलगायतका केही कार्यक्रमबाहेकका अधिकांश कार्यक्रममा तोकिएको कोटाअनुसार उत्तीर्ण भएका छैनन्

उच्च शिक्षा अध्यापन गराउने सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा मात्र होइन, अन्य विश्वविद्यालयमा समेत विद्यार्थी अभाव देखिन थालेको छ । चिकित्सा शिक्षाको जनशक्ति उत्पादनमा अघि देखिएको काठमाडौं विश्वविद्यालय (केयू) ले चिकित्सा शिक्षाका कार्यक्रममा समेत कोटाअनुसारको विद्यार्थी पाएको छैन ।

सीमित विद्यार्थी भर्ना गरेर पढाउँदै आएको केयूका स्कुल अफ मेडिकल साइन्ससहित अधिकांश स्कुलमा विद्यार्थी संख्या कम हुन थालेको देखिएको छ । सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूले विदेश जाने लहर र नेपालका विश्वविद्यालयले भर्ना, परीक्षा र नतिजा समयमै गर्दैन भन्ने मानसिकता बनेकाले पनि विश्वविद्यालयमा विद्यार्थी संख्यामा कमी हुँदै गएको बताए ।

प्रा.डा. भोला थापा उपकुलपति, केयू
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिन सुरु गरेपछि चिकित्सा शिक्षामा विद्यार्थी कम हुन थालेका हुन् । प्रक्रिया पूरा गर्नै ६–७ महिना लाग्ने भएपछि विदेशी विद्यार्थी आउन कम भएको हो ।

केयूमा समग्रमा करिब २२ प्रतिशत कोटा रिक्त छन् । चिकित्सा शिक्षाका एमबिबिएस, बिडिएसलगायतका केही कार्यक्रमबाहेकका अधिकांश कार्यक्रममा तोकिएको कोटाअनुसार उत्तीर्ण भएका छैनन् । सन् २०२२ मा सञ्चालित केयूमा चिकित्सा शिक्षाका कुल ३७ कार्यक्रममा दुई सय ७८ सिट रिक्त रहेका छन् । केयूका उपकुलपति प्रा.डा. भोला थापाले चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिन सुरु गरेपछि चिकित्सा शिक्षामा विद्यार्थी कम हुन थालेको बताए । लामो र झन्झटिलो प्रक्रियाले विदेशी विद्यार्थी आउनसमेत कम भएको बताए । ‘प्रक्रिया लामो छ, ६–७ महिना लाग्ने भएपछि विदेशी विद्यार्थी आउन कम भयो,’ उनले भने, ‘डाक्टर बन्न चाहनेको संख्या अहिले पनि धेरै छ, डाक्टरलाई सहयोग गर्ने महत्वपूर्ण जनशक्ति पढ्न आउनेहरू कम छन् ।’ चिकित्साका कार्यक्रममा छात्रवृत्तिको कोटामा समेत कोटा खाली भएका छन् ।

नेपालमा प्रोत्साहन गर्नेभन्दा नियन्त्रण गर्ने धेरै भएका समस्या भएको उपकुलपति थापाले बताए । यसअघि मेडिसिनसँगै बुद्धिस्ट स्टडिजमा विदेशी धेरै आउने गरेका थिए । केयूका अनुसार बुद्धिस्ट स्टडिजमा ९० प्रतिशतभन्दा बढी विदेशी आउने गरेकोमा अहिले समस्या हुने गरेको छ । चिकित्सा शिक्षासँगै अन्य कार्यक्रममा पनि विद्यार्थी अपुग भएर सिट खाली हुने गरेको छ । सन् २०२२ को भर्नामा स्कुल अफ म्यानेजमेन्टका १५ कार्यक्रममा एक सय १४, स्कुल अफ आर्टस्मा एक सय ५९, स्कुल अफ एजुकेसनमा ६० सिट रिक्त भएका छन् । स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ साइन्समा भर्ना प्रक्रिया चलिरहेको छ । केयूको स्कुल अफ लमा विद्यार्थी कोटा पूरा भएको पाइएको छ ।

काठमाडौं विश्वविद्यालयमा १८ हजारभन्दा बढी विद्यार्थी छन् । प्रत्येक वर्ष ६ हजारको हाराहारीमा नयाँ भर्ना गर्छ । केयूमा दुई सयभन्दा बढी कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थी संख्या कम भएका कारण केही कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा आएको केयूका पदाधिकारीको भनाइ छ । कम उत्तीर्ण हुने, उत्तीर्ण भएका विदेश जानेलगायतका कारणले विश्वविद्यालमा विद्यार्थी संख्या कम हुँदै गएको उनीहरूको विष्लेषण छ । केयूका प्रवक्ता डा. उद्धव प्याकुरेलले विदेशी विद्यार्थी ल्याउन छात्रवृत्तिको व्यवस्थासमेत गरेको बताए ।

देशको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले समेत विद्यार्थीको खडेरी भोगेको छ । साधारण विषयमा मात्र होइन, महँगो र यसअघिसमेत आकर्षण मानिएका ‘प्राइभेट’ कार्यक्रममा विद्यार्थीको कमी भएको छ । त्रिविको डिन कार्यालयले सञ्चालन गर्ने सेमेस्टर प्रणालीका कार्यक्रमको सिम्याटमा विद्यार्थी कम भएपछि दोहोर्‍याएर प्रवेश परीक्षा लिएको थियो ।

 

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ