अडियो प्रकरणमा श्रेष्ठ दोषी देखिए ७२ घण्टाभित्र सांसद पदबाट बर्खास्त गर्छु: रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अडियो प्रकरणमा दोषी देखिए सांसद् ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् । आइतबार गढीमाईमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले दोषी देखिए सांसद् ढाकाकुमारलाई ७२ घण्टाभित्र सांसद पदबाट बर्खास्त गर्ने बताएका हुन् ।

‘दोषी देखिए ७२ घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’, उनले भने । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको अडियो सार्वजनिक भएको एक घण्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन थालिएको बताए ।

‘७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउन अल्टिमेटम दिएको छु, देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलब छैन । तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घण्टाभित्र छानबिन सकिन्छ । सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु।’, रविले भने ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसबापत पार्टीलाई बुझाउनुपर्ने भनेर २ करोड रुपैयाँ मागेको अडियोमा प्रष्ट सुनिएको छ ।

उक्त अडियो सार्वजनिक भएपछि रास्वपामा खैलाबैला मच्चिएको हो । अडियोमा श्रेष्ठले आफूहरूको भागमा स्वास्थ्य मन्त्रालय पर्ने र मन्त्रीका लागि पार्टी अध्यक्ष रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए ।

आफूसँग पैसा नभएको बताउँदै उनले अहिले एक करोड जति दिँदा हुने र एक करोडको चेक दिँदा पनि हुने बताएका थिए। त्यसको जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराउने बताएका थिए । दुई करोड पार्टी सभापति रवि लामिछानेलाई बुझाए आफूलाई मन्त्री बनाउने ती सांसदले दुर्गा प्रसाईंसँग भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ