प्रकृतिको अनुपम वरदान : सुन्दर प्रदेश


धनगढी । शासकीय स्वरुपमा आएको परिवर्ततनसँगै सुदूरपश्चिम प्रदेशको जन्म भयो । २०७५ सालमा सुदूरपश्चिम प्रदेशसभाले बहुमतले प्रदेशको नाम सुदूरपश्चिम पारित गर्यो ।संघीय राजधानी काठमाडौंले देखिने सुदूरपश्चिमलाई प्रदेशकै सांसदले सुदूर नै देखेपछि स्वाभाविक रुपमा प्रदेशको नाम सुदूरपश्चिम नै रह्यो ।

सुदूरपश्मिाञ्चल विकास क्षेत्रको रुपमा तत्कालिन पञ्चायती व्यवस्थाले विभाजन गरेको थियो । पञ्चायतले देखेको सुदूरलाई २०४६ सालपछि फेरिएको व्यवस्थाले पनि पनि सुदूरकै नजरले देख्यो । सुदूरपश्चिममा विकास क्षेत्र अन्तरगत नौ वटा जिल्ला र दुईवटा अञ्चल सेती र महाकालि थिए ।

सुदूरपश्चिमलाई सुदूरमात्र देख्ने तत्कालिन व्यवस्थाले सुदूरबासीको जनजीवनमा ल्याउने परिवर्तन र खोलिनु पर्ने विकासको ढोकालाई कहिलै प्राथामितामा राखेन । जहिले सुदूरलाई सौतेनी नजरले हेर्यो,व्यवहार गर्यो । 

जसको परिणाम स्वरुप सुदूरबासीले अहिले पनि भोग, रोग,अभाव र गरिबी अभावमा बाच्नु परेको छ । यी भुईमान्छेको जीवनमा परिर्वतन ल्याउन देशमा ठूलाठूला आन्दोलन भए । जसमा हजारै मानिसले ज्यान गुमाए । उनीहरु रगत बलिदानबाट देशमा परिर्वतज आयो । राणा शासन सकियो,राजतन्त्रको अन्त्य भयो ।

देशमा गणतन्त्र आयो,लोकतन्त्र आयो । देशको व्यवस्था फेरियो । तर,देशको व्यवस्थान फेर्ने रगत पसिना बनाएका भुँईमान्छेको अवस्था कहिले फेरिएन । देशमा सुन्दर भविष्यको परिकल्पना गरेका जय पृथिबी बहादुर सिंह, भिम दत्त पन्त, दशरथचन्द ठाकुर, बाकाविर जस्तावीर योद्धाहरु अहिले मुखमा माड लगाउन भारतको दिल्लीदेखि कुमाऊ गढवालका गल्लीगलीमा कष्टकर जीवन बिताउन बिबस छन् ।

२०७२ मा संविधान जारी भयो । देशमा सातवटा प्रदेश र ७५३ वटा स्थानीय तह निर्धारण गरियो । संघीय लोकतान्त्रीक गणतन्त्रको छातामुनी देश र जनताका तमाम समस्याहरु समाधान गर्ने बाटो स्पष्ट परियो । यसै शिलसिलामा सुदुरपश्चिम प्रदेश नामाकरण नहुनुभन्दा अगाडि ७ नम्बर प्रदेशको रुपमा रहयो । २०७४ सालमा परिवर्तित शासकीए स्वरुपमा आमनिर्वाचन भयो ।

प्रदेशसभाहरु गठन भए । आफ्नो ऐतिहासिक पहिचान, योजनाबद्ध विकास र जनमुखी सेवा प्रदान गरी सुदूरपश्चिमबासीलाई सजिलो र सुन्दर जीवन यापन गराउने सूवर्ण अवसर प्रदेशले पायो । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले खुबै चर्चा पायो ।

तर, परिवर्तित शासन व्यवस्थामा विगतको व्यवस्था झैँ हामीले पनि सुदूरपश्च्मिलाई सुदूर नै देख्यौं । सात नम्बर प्रदेशबाट सुदूरपश्चिम प्रदेशमा रुपान्तरण गर्यौँ । प्रदेशमार्फत पहिचान, सभ्यता, संस्कृति र अपार सुन्दरतालाई प्रस्तुत गर्न सकेनौं । राजधानीबाट भूगोलको मापनले सुदूर देखेको सुदूरपश्चिमलाई हामीले पनि नजिकबाटै सुदूर नै देख्यौं ।

आज सातवटै प्रदेशले आप्नो सभ्यता,संस्कृति अनुसार प्रदेशमा नामाकरण गरिसकेका छैन । ढिलै भएपनि सबै प्रदेशमा आफ्नो पहिचान अनुसार नाम पाएका छन् । हालसालै प्रदेश नम्बर एकले आफूलाई कोशी प्रदेशमा रुपान्तरण गरेको छ । सभ्यता र संस्कृतिमा जोडिएको विशाल नदीमार्फत आफ्नो प्राकृतिक पहिचान प्रदेशले पाएको छ । प्रदेश दुईले पनि मधेसको पहिचान झल्कने गरी आफ्नो नामाकरण गरिएको छ ।

प्रदेश नम्बर तीनले वागमती नदीको पहिचानलाई वागमती प्रदेशको रुपमा जोडेको छ । प्रदेश नम्बर चारले गण्डकी नदीको नाममा आफ्नो नामाकरण गरेको छ । प्रदेश पाँचले लुम्वीनिलाई प्रदेशको नामाकरणमा जोडेको छ । प्रदेश छ ले कर्णाली नदीलाई समेटेर नाम दिएको छ । माथि उल्लेखित प्रदेशहरुले प्राकृतिक, ऐतिहासिक र पुरातात्विक स्थान र ठाँऊहरुसँगको गहिरो सम्बन्ध, पहिचान र सुन्दरतालाई उचितरुपमा उपयोग गरी अगाडी बढेका छन् ।

प्रकृतिको अपार वरदानप्रति श्रद्धा र सम्मान प्रकट गरेका छन् । विगतको व्यवस्थाले गरेको नामाकरणलाई परिवर्तित सन्दर्भमा पहिचानका साथ आफूलाई उभ्याउन सफल भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा पनि सभ्यता, संस्कृति, पहिचान बोकेका ऐतिहासिक, धार्मिक, पुरातात्विक र प्रकृति प्रदत्त सम्पदा बोकेका धेरै पवित्र ठाँऊहरु छन् । वास्तवमा सुदूरपश्चिम सुदूर थिएन र छैन । जो सुन्दर र पवित्रमय छ । राजधानीको सिंहदरवारले तत्कालिन व्यवस्थाबाट देखेको सुदुरपश्चिम मात्र थियो । किनभने यही प्रदेशमा, खप्तड, बडिमालिका,अपी, सैपाल जस्ता हिमालहरु, शैलेश्वरी,उग्रतारा, मालिकार्जुन, बुढीनन्दा,रामारोशन,बैजनाथद्याम जस्ता मन्दिरहरु, शुक्लाफाँटा, घोडाघोडी, सेती र महाकाली नदीहरु हाम्रो गौरव, पहिचान, सुख, शान्ति र सम्बृद्धिसँग जोडिका स्थलहरु हन ।

यहि स्वर्गतुल्य भूमिमा खप्तडबाबा आफ्नो मेडिकल डाक्टरी पेशा छोडेर ५० वर्ष कठोर साधना र तपस्या गरेका थिए । यही प्रदेशले न्याय, समतामुलक समाज निर्माण र प्रजातन्त्रका लागि बलिदानी दिने महापुरुषहरु जन्माए । जय पृथिबी बहादुर सिंह, भिम दत्त पन्त, दशरथचन्द ठाकुर, डा.केआईसिंह, बाकाविर यी भूमिका वीर योद्धा हुन् ।

यति धेरै सुन्दरता र पहिचान बोकेको सुदूरपश्चिम प्रदेश किन प्रदेशको नामाकरणको बेला आफ्नो पहिचान दिनबाट चुक्यो । किन हामीले आफुलाई सुदूरपश्चिमका भन्नमा गौरव गर्ने अवस्था आयो ? किन प्रदेशको नाम खप्तड , बडिमालिका, सेती महाकाली, अपी सैपाल, भिम दत्त पन्त, दशरथ चन्द ठाकुर, लिपुलेक लिम्पियाधुरा कालापानी जस्ता सुन्दरता र विशेषताले ओतप्रोत हुने गरी नामाकरण किन भएन । नामाकरणमा आफ्नो पहिचान दिन हामीलाई केले रोक्यो होला ? के यसमा पनि देशी विदेश हस्तक्षेप भयो होला त ? पक्कै पनि मलाई त्यस्तो लाग्दैन ।

हामीले हाम्रो सुन्दरता, हाम्रा बलिया पक्षहरु, हाम्रो पहिचान,सामथ्र्य चिन्न सकेनौ । हामी संकुचित विचार र शैलीबाट माथि उठ्न सकेनौ । हामीले हाम्रो ठाँऊलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन ठोस पहल कदमी लिन सकेनौ सकिरहेका छैनौँ । 

विकास र सम्मृद्धिको यात्रा तय गर्ने पहिलो पक्ष भनेको हामीले आफ्नो सहि विश्लेषण गर्न सक्नुपर्दछ । हामी को हौं , हामी अहिले कहाँ छौ, हामीसँग के के छन्, हामी लक्ष्यमा कसरी पुग्न सक्दछौं भन्ने कुराको मुख्य पाटोको लेखाजोखा र हिसाब किताव हुन आवश्यक हुन्छ । आफ्नो सुन्दरता, पहिचान र सामथ्र्य नै हामीले देखेनौ भने अरु कसैले देख्दैन । हामीले आफुलाई सुदूरका मान्ने र देख्ने प्रवृतिको अन्त्य हुन आवश्यक छ ।

हामी हरेक किसिमले केन्द्रमा छौं । हामी छिमेकी मुलुक भारतको राजधानी दिल्लीबाट करिब आठसय कि.मी मात्र टाढा छौं । छिमेकी मुलकुसँग जोडिएको उत्तरप्रदेश, हिमाञ्चल प्रदेशको सनातनी धर्मसंस्कृतिको विशाल सामुदायसँग भूगोल र भावनाले प्रत्यक्ष र परोक्ष रुपमा जोडिएका छौं, जुन हाम्रा सुन्दरता, धार्मिक, ऐतिहासिक, सांस्किृतिक ठाँऊहरुको विशालतालाई विश्वसामु चिनाउन र देखाउन उचित सहकार्यको अवसर छ ।

खप्तड तथा बडिमालिका लगायतका क्षेत्र विश्वको आकर्षणका केन्द्रहरु यही प्रदेशको केन्द्र भागमा छन् । मानोसरोवर कैलाशपर्वतको प्रवेशद्धार यहीँ प्रदेशमा छन् । अपी र सैपाल हिमाल यहीँ पर्छन । थारु संस्कृति, मष्टो संस्कृति, डेउडा नाच, भुवा नाच, खस आर्य संस्कृति र सभ्याता यहीँ छन् भने हामी कसरी सुदूरपश्चिमका भयौं ।

राज्यलाई मुक्ति दिलाउने आन्दोलनको नेतृत्व गर्ने यहीँ प्रदेश हो । सभ्यता र संस्कृतिको उद्गम स्थल यहीँ प्रदेश हो । भौगोलिक सामरिक महत्व बोकेको भूमि यहीँ प्रदेश हो । जीवित देविदेवताको बाँसस्थान भएको भूमि यहीँ हो भने हामी कसरी सुदूरका भयौं ??

देशको व्यवस्था परिवर्तन भयो । सिंहदरबारको अधिकार गाउँमै पाइने भयो भन्दै नागरिक मख्ख थिए । तर सिंहदरबारको अधिकार गाउँमा भएको लामो समय भइसक्दा पनि कतिपय सुदूरबासीले सिंहरबारको त के ? आफ्नै नैर्सगिक अधिकारीको महसुश गर्न पाएका छैन्न ।

परिवर्तित व्यवस्थामा संघ, प्रदेश र स्थानीय सरकारहरु निर्माण भए । संघीय व्यवस्थामा  पहिचान, रुपान्तरण र जीवन वदलिने आशा थियो । तर, जनतामा दुःख, कष्ट, अभाव, वेरोजगारी र संकटको कमी आउने गुञ्जायस देखिन सकेको छैन । यो क्रम निरन्तर देखिदै छ । सुदूरपश्चिम सुदूरबाट सुन्दरतामा प्रवेश गर्न सकिएन भने,हामीले हामीसँग भएको अतुलनीय सुन्दरता, प्रचुर जैविक विविधताको उपयोग गरी आफ्नो जीवन रुपान्तरण गर्ने कार्यमा लागेनौ भने व्यवस्था परिवर्तनले सही परिणाम दिन सक्दैन ।

जुन व्यवस्था आएपनि हामी आफ्नो अवस्थामा परिवर्तन ल्याउने आफ्नो ठाँऊहरुको उचित पहिचान गरौँ । प्रदेशमा भएका कृषि, पर्यटन र उर्जा क्षेत्रलाई विश्वबजारमा बिक्री वितरण गरी अगाडी बढ्ने बाटोको सुनिश्चित गर्ने कार्यमा अग्रसर हौँ । अब सुदूरका हौंइन हामी, सुन्दुर र पवित्र भूमिका बासी बनौँ । जागरणको दिशामा अघि बढ्औं । हाम्रो संस्कृति पहिचान  र पर्यटकीय स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा लागि शान्त, सुखि र सम्बृद्ध बनौैं । हामी जाग्न धेरै ढिला भइसक्यो,अब उठौँ,जागौँ र यसबारे निरन्तर छलफल र सम्बादको थालनी गरौँ ।

  • लेखक खड्का खप्तड क्षेत्र पर्यटन बोर्डका कार्यकारी निर्देशक हुन् ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ