धनगढीमा विद्यार्थीमाथि कुटपिट गर्ने १२ जना पक्राउ


धनगढी। धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने फुलबारीका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय बिराज बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक छन् । यस्तै सन्तोष दवाडी, जनक बोहरा, आर्यन थापा, अभि बिक, सृर्जन कोली, सुरज परियार र कृष्ण सिके रहेका छन्।

पक्राउ परेका उनीहरु १२ जनामाथी थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साउँदले बताए । आइतबार एउटा युवाहरुको समूहले परीक्षा दिएर घर फर्किरहेका बेला फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ