त्रिविमा बिसिएका विद्यार्थीले पाएनन् ट्रान्सक्रिप्ट


नतिजा सार्वजनिक भएको पाँच महिना बित्दा पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातक तहको बिसिए कार्यक्रमका विद्यार्थीले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् । चार वर्षमा आठ सेमेस्टर अध्ययन गरेका बिसिएको पहिलो ब्याचका विद्यार्थी पाँच महिनादेखि ट्रान्सक्रिप्टको पर्खाइमा छन् ।

सेमेस्टर प्रणालीमा सञ्चालन भएको बिसिए कार्यक्रमको परीक्षा तथा नतिजा डिन कार्यालयले सञ्चालन गर्ने र ट्रान्सक्रिप्ट परीक्षा नियन्त्रण कार्यालय बल्खुले दिने व्यवस्था छ । यी निकायबीच समन्वय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको हो ।

मानविकी तथा सामाजिक संकायका सहायक डिन प्रा.डा. तारा भुसालले डिन कार्यालयबाट ट्रान्सक्रिप्टको ढाँचा पहिले नै बनाएर पठाइसकेको बताए । डिन कार्यालयका अधिकारीले भने पनिकाबाट ढिलाइ भएको हुँदा समस्या भएको जनाएका छन् । गत मंसिरमा आठौँ सेमेस्टरको नतिजा सार्वजनिक भएको थियो ।

त्रिविले पहिलो वर्ष त्रिविका दुईवटा आंगिक पाटन संयुक्त र पद्मकन्या क्याम्पसबाट बिसिए कार्यक्रम सुरु गरेको थियो । अहिले यो आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन भइरहेको छ । पहिलो ब्याचमा करिब डेढ सय विद्यार्थी छन् । मानविकी तथा सामाजिक संकायअन्तर्गत ‘प्राइभेट’ कार्यक्रमका रूपमा सञ्चालित बिसिएमा विद्यार्थीको आकर्षण बढिरहेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक डा. घनश्याम ठाकुरले सबै प्रक्रिया पूरा भएर ट्रान्सक्रिप्ट दिने तयारी भएको बताए । उनका अनुसार पहिलो ब्याच भएकाले सबै प्रक्रिया पुर्‍याउँदा अलि समस्या भएको हो । ट्रान्सक्रिप्ट प्रिन्ट भएर अब तत्काल विद्यार्थीको हातमा दिने तयारी भएको बताए । समयमा ट्रान्सक्रिप्ट नपाउँदा विदेश अध्ययनमा जाने र अन्य अवसरसमेत गुमेको गुनासो आउने गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ