सामुदायिक वनको आगो बस्तीमा सल्किँदा घर जलेर नष्ट


गएराति मन्थली नगरपालिका– ५ सुनारपानीको सालघारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

जंगलमा लागेको आगो अकस्मात् बस्तीमा पस्दा सुनारपानी मचबारीका यमबहादुर मगरको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो। त्यसैगरी आगलागीमा परी सोही घरमा बाँधिरहेको एउटा गोरु पनि जलेको मन्थली नगरपालिका– ५ सुनारपानीका वडाध्यक्ष रविन कार्कीले जानकारी दिए।

उनका अनुसार तीन दिनदेखि सालघारी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। गएराति सामुदायिक वनबाट बस्तीमा पसेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको टोलीले नियन्त्रणमा लिए पनि जंगलमा लागेको आगो भने अझै लागिरहेको अध्यक्ष कार्कीले बताए।

गएराति एकैदिन मन्थली नगरपालिकाको वडा नम्बर १, ३, ५, ८ का विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

आगलागीबाट करोडौँ मूल्यबराबरको काठ जलेर पूर्ण रूपमा नष्ट भएको छ भने सामुदायिक वनमा रहेका विभिन्न प्रजातिका चराचुरुंगी र जंगली जनावर जलेका छन्। पछिल्लो केही दिनयता रामेछापका विभिन्न सामुदायिक वनमा आगलागीका घटना बढ्दै गएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ