प्रचण्ड सच्चिएर उदाहरणिय बन्ने कि !


चुनाव जितेको भोलिपल्टै एक मतदाता भएको हिसाबले सार्वजनिक बधाई दिन ढिला भएझैं लागिरहेको थियो मलाई। तर, एक सांसदको रूपमा मात्र नभएर देशैको प्रधानमन्त्रीलाई नै बधाई दिन जुरेको रहेछ गोरखा-२ को एक मतदाताको रूपमा।

सुरुवातमै स्वीकार्छु, म माओवादी आन्दोलनको सदाबहार शुभचिन्तक हुँ । हिंसाको विरोधी हुँ।

माओवादी आन्दोलनमा आफ्नै परिवारको रगत मिसिएकाले त्यसको नेतृत्वले सम्मान गरिदिए हुन्थ्यो भन्ने इच्छा प्रत्येक पल गरिरहने युवा हुँ। आफ्नो बुबालाई बेपत्ता बनाएको दुई दशक बितिसक्दा पनि उहाँको सास वा लासमध्ये कुनै एक त देऊ भनेर प्रत्येक क्षण याचना गरिरहेको एक नागरिक हुँ ।

यो तमाम प्रक्रियामा प्रमुख हिस्सा रहेका प्रचण्डले दुईपटकसम्म सरकारको नेतृत्व गर्दासम्म पनि पूरै बेवास्ता गरेको समुदायको प्रतिनिधि पात्र हुँ। आजसम्म सयौंपटक बढी सबै जिम्मेवार पक्षसामु आफ्नो विलौना गर्दागर्दा थकित तर आशावादी नागरिक हुँ।

युद्धकालीन मुद्दाहरूको उचित व्यवस्थापन गर्न सक्ने र गर्नुपर्ने प्रमुख व्यक्ति प्रचण्ड हुन्। तत्कालीन बेपत्ताहरूको अवस्था ६ महिनामा सार्वजनिक गर्ने भनेर दुई दशकसम्म सार्वजनिक नहुनुको प्रमुख जिम्मेवारी प्रचण्डले लिनुपर्छ भन्ने प्रष्ट विचार राख्ने युवा हुँ।

अनि, म समानतामूलक नेपालको कल्पना गर्ने राजनीतिक चेत भएको एक युवा हुँ।

****

आफूले उठाएका मुद्दाहरू सिङ्गो माओवादी पंक्तिले बिर्सिसकेको अनि यसैको सजायस्वरूप लगभग बहुमतनजिक पुगेर केही सिटमा खुम्चिसकेको आजको यथार्थले माओवादी पार्टीको अझ पीडादायी भविष्य देखाइसकेको छ।

थप; पहिलो हुने पार्टी प्रतिपक्षमा बस्ने अनि दोस्रो हुने पार्टीले समर्थन गरेर तेस्रो भएको पार्टीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दिन सधैं आउँदैन भन्ने प्रचण्ड स्वयंलाई गम्भीर हेक्का भएकै हुनुपर्छ।

प्रष्ट छ- माओवादी पार्टीको लागि सरकारको नेतृत्व गर्ने यो अन्तिम अवसर हो।

प्रचण्ड नेतृत्वको माओवादीसँग अब सच्चिएर उदाहरण बन्ने वा सक्किएर अपवाद भन्ने बाहेकको अर्को विकल्पै छैन। आफैंले नेतृत्व गरेर त्यो तहसम्म पुर्‍याएको माओवादी पार्टीको यो दु:खद वर्तमानसम्मको चक्र पार गर्दै आइरहेका प्रचण्डले के सोचिरहेका होलान् ?

आफैंले हुर्काएको माओवादी आफैंले समाप्त गर्लान् ? प्रचण्ड स्वयंबाहेक कसलाई के थाहा !

चिन्ता चासो भने मलाई पनि छ। म जस्ता ११ लाख ‘माओवादी पार्टीका समानुपातिक भोटर’ लाई पनि छ।

यसैले त आजको दिनमा पनि माओवादी पार्टीलाई प्रश्न निरन्तर गरिराखिएको छ। नेतृत्वको भजन गाएर क्षणिक स्वार्थपूर्ति भन्दा पनि बरु अपमान सहेरै प्रश्नहरू जारी राखिएको छ।

*****

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्ड कहिले आकाशमा उड्ने चरा बने, कहिले पानीमुनि बस्ने माछा। जनताको धरातलीय यथार्थ बुझ्ने नेता बनेनन् वा बन्नै चाहेनन्।

भनाइ नै छ- ‘कोही साधारण मानिस बाँकी संसारका लागि कोही नहुन सक्छ तर त्यही साधारण मानिस कसैकसैका लागि सारा संसार हुनसक्छ।’ युद्धका दौरान बेपत्ता-शहीद भएकाहरू तपाईंका लागि एउटा सामान्य कार्यकर्ता थिए होलान् तर हाम्रा लागि उनीहरू सारा संसार थिए। उनीहरूको अभावमा हामी पुस्तौंसम्म पीडित हुने निश्चितप्रायः छ

दोस्रोपटक प्रधानमन्त्री हुँदैगर्दा अलिक सम्हालिन खोजे। केही दीर्घकालीन नतिजा पनि दिलाए। समय पर्याप्त पाएनन्। तर, माओवादी पार्टीमा बढेको आर्थिक-सामाजिक-राजनीतिक स्खलनलाई बुझेर सुधार आफैंबाट गर्न अरुचि देखाउने कमजोरीको निरन्तरता नै दिइरहे।

प्रधानमन्त्री भन्ने पद कति पटक खाएपछि इच्छा पूरा हुन्छ भन्ने शेरबहादुरपछि तपाईंलाई नै थाहा होला। हरेकपटक प्रधानमन्त्रीबाट हट्नुअघि ‘यति गर्न पाएको भए’ भन्ने हुटहुटी बाँकी रहन्छ होला र त अर्कोपटक पर्खेर बसिन्छ।

पहिलो पटक पूरा गर्न नपाएका सपना दोस्रोपटक गर्नुभयो होला। दोस्रोपटक नपाएका अब यो तेस्रोपटक गर्नुहुन्छ होला। चौथो पटकलाई भनेर नसाँच्नुहोला है।

नियमित प्रक्रियाभन्दा पनि ‘अपवाद’ बनेर आएको यो अन्तिम निर्णायक अनि कम्तीमा अढाइ वर्षे प्रधानमन्त्रीकाल कसरी बिताउने ? उनी स्वयंमै भर पर्छ। तर, प्रचण्डले गर्वयोग्य काम गरेर लगभग मृतप्रायः बनिसकेको माओवादी पार्टीलाई फेरि पुनर्जीवन दिऊन्। अनि मजस्ता शुभचिन्तकले माओवादी आन्दोलनका उपलब्धिमाथि गर्व गर्न सकूँ भन्ने चाहना छ। सँगै, चिन्ता पनि ! यो कार्यकालमा धेरै काम गर्नु पर्दैन। कम्तीमा यति त गर्नुस् !

प्रचण्डले यो कार्यकालमा गर्नैपर्ने पहिलो काम भनेको जनयुद्धकालीन मुद्दाहरूको सम्बोधन गर्न बनाइएको सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगबाट पीडितलाई न्याय दिलाउन नेतृत्व गर्नु हो।

‘भरे पठाइदिन्छु तिम्रा श्रीमानलाई’ भनेर तत्कालीन शाही सेनाले लगेका मेरो बुबालाई के गरियो आजसम्म थाहा छैन। आमा ३० वर्ष आसपास रहनुभएको समयमा बेपत्ता पारेको मेरो बुबाको अवस्था म ३० वर्ष पुग्नै लाग्दासम्म पनि अत्तोपत्तो छैन। योभन्दा दुःखद अवस्था के हुनसक्ला भन्नुस् त सम्माननीय प्रधानमन्त्रीज्यू, बुबा आउने त्यो ‘रात’ कुर्दै प्रत्येक सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हामीले कसरी बितायौं ? हामी कसरी बताऔं !

तपाईंको यो कार्यकालमा पनि हामीले न्याय नपाए कहिल्यै पाउँदैनौं भन्ने थाहा छ। यदि त्यस्तो परिस्थिति आएमा त्यसको एक मात्र जिम्मेवार हामी तपाईंलाई मान्नेछौं। संक्रमणकालीन न्याय जति लम्ब्यायो, त्यति नै लम्बिन्छ। सँगै, जटिलता थपिन्छ पनि। हामी युद्धकालीन पीडित न त नन्दप्रसाद अधिकारी दम्पती जसरी जीवन दाउमा राख्न सक्छौं, न ती सबै घटनालाई चटक्क बिर्सन।

तर, एउटा भनाइ छ- ‘कोही साधारण मानिस बाँकी संसारका लागि कोही नहुन सक्छ तर त्यही साधारण मानिस कसैकसैका लागि सारा संसार हुनसक्छ।’ युद्धका दौरान बेपत्ता-शहीद भएकाहरू तपाईंका लागि एउटा सामान्य कार्यकर्ता थिए होलान् तर हाम्रा लागि उनीहरू सारा संसार थिए। उनीहरूको अभावमा हामी पुस्तौंसम्म पीडित हुने निश्चितप्रायः छ।

न त त्यो बगाएको रगतले न्याय पायो भनेर मन बुझाउनु ! न त नेतृत्व अझै प्रयत्नशील छ भनेर सन्तोष मान्नु। युद्धका शहीद-बेपत्ता पारिएका परिवारको पीडाको त के कुरा ! बरु सास खानु त लास नखानु !

शहीद-बेपत्ता परिवारका सन्तानलाई राज्यले दिने सहयोग कति अव्यावहारिक-अपुग छ भन्ने कुरा बुझाउन स्थानीय नेतृत्वलाई त सक्दैनौं हामी, तपाईंलाई बुझाउन त कसरी सक्छौं होला र !

शहीद र बेपत्ताका सन्तानलाई राज्यले उमेरहद तोकेर प्रदान गर्ने सुविधाबाट बहुसंख्यक विमुख छन् । कैयौं शहीदका सन्तानले विद्यालयको मुख नदेखिरहेको विषम अवस्थामा पढ्नेहरू समेत विविध कारणले नियमित हुन नसक्दा सरकारले तोकेको १८ वर्ष उमेरहद नाघ्ने हुँदा राहतबाट पूर्णतः वञ्चित छन् । अझ दुर्भाग्य, आन्दोलनका शहीद र बेपत्ता परिवारका छोराछोरी पठन–पाठन गर्ने विद्यालयको अवस्था शर्मनाक छ ।

आफ्ना सन्तानलाई सुविधासम्पन्न विद्यालयमा पढाउने नेताले आफूसँगै एउटै मोर्चामा हुँदा शहादत प्राप्त गरेका सहकर्मीका सन्तानको व्यवस्थापनमा गम्भीर पहल गर्नै सकेका छैनन्  । राज्यले ‘जनयुद्ध’का शहीद र बेपत्तालाई दिने भनी वाचा गरेको दश लाख पाउन ठ्याक्कै दश वर्ष लाग्यो ।

****

प्रिय प्रचण्ड,

जनताको दैनिक जीवनमा पाइलैपिच्छे आउने कठिनाई सम्बोधनको पहलै नगरी सधैं ‘कागजी उपलब्धि’ को प्रमुख हिस्सेदार भन्दै अर्थ व्याख्या गरेर ब्याज खान पाइन्न भन्ने हेक्का तपाईंलाई राम्रैसँग होला।

कक्षा चारमा पढ्दै गरेको एउटा दश वर्षे बालकलाई भविष्यको लक्ष्य के हो भनेर प्रश्न गर्दा ‘अमेरिका जाने’ भन्ने अवस्थाबीच संघीयता-धर्मनिरपेक्षता आजका सबैभन्दा ठूला उपलब्धि हुन् भनेर कसरी बुझाउने? कुन कानुनको दफाले सम्झाउने? तपाईंलाई थाहा छ, आज जे छ- माओवादीले गर्दा छ। आज जे छैन- माओवादीले गर्दा छैन।

कुनै पनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुपूर्व पर्दाअगाडि देखाइएका सपना आन्दोलनकै बलबाट सत्तामा पुगेपछि के कति पूरा गर्छन् वा पूरा गराउन प्रयत्नशील रहन्छन् भन्ने कुराले निर्भर गर्छ, धेरै हदसम्म ।

युद्धका जगमा हासिल भएका उपलब्धिलाई तराजुको एउटा पल्लामा राखेर त्यस योगदानका निम्ति बगाइएका रगत, देखाइएका सपना अनि क्षत–विक्षत पारिएका सामाजिक संरचनालाई अर्को पल्लामा राख्दा उपलब्धि ज्यादा फिक्का देखिन्छ। अझ, तत्कालीन माओवादी नेतृत्वको भनाइ र गराइमा आएको चरम अन्तरले उपलब्धि अझ फिक्का बन्नेमा दुईमत छैन।

माओवादी र यसको नेतृत्व यसकारण पनि भिन्न बन्नुपर्छ कि, उनीहरूको ‘उत्पादन’ गर्न यो देशले कल्पनै गर्न नसक्ने त्याग गरेको छ।

एउटा गाउँ छैन जहाँ माओवादी युद्धताका शहीद-बेपत्ता बनाइएकाको सम्झनामा चौतारी नबनाइएको होस्।

एउटै गाउँ छैन जहाँ माओवादी युद्धले प्रभावित नबनेको होस्।

एउटै परिवार छैन होला जसलाई माओवादी युद्धले प्रत्यक्ष-अप्रत्यक्ष क्षति नगरेको होस्।

यसरी तप्का-तप्कालाई प्रभाव पारेको त्यो युद्धबाट आएका अगुवाहरू यति स्खलित भएको देख्दा तपाईंलाई कस्तो लाग्छ प्रचण्डज्यू ? आफैंले आफैंलाई देख्दा कस्तो लाग्छ ?

युद्धले आफ्नो श्रीमानसहित दुई छोरा गुमाएकी एक गाउँले आमाको एक्लो छोरो घरको आर्थिक अवस्था सुध्रिन्छ कि भनेर बुढीआमालाई एक्लै छोडेर मरुभूमि भासिएको छ। उसले आफ्नो बुबाको रगत देश बनाउन नै थियो भनेर कसरी मन बुझाउन सक्छ प्रिय प्रचण्डज्यू ?

****

मलाई काङ्ग्रेस-एमालेसँग खासै अपेक्षा छैन। र त केही गुनासै छैन।

माओवादी आन्दोलनको त्यो रापतापको त्यो वैचारिक आन्दोलनबाट हुर्किएकाले मलाई अहिले वर्तमान समयमा भावनामा बगेर आएका पार्टीहरूप्रति पनि खासै अपेक्षा छैन। मलाई अपेक्षा अझै माओवादीसँगै छ। गुनासा माओवादीसँगै छ। अझ, मूल नेतृत्व प्रचण्डसँगै छ।

यो कार्यकालमा के कस्ता काम कसरी गर्न सकिन्छ भन्ने पनि तपाईंलाई प्रष्ट छ। जनचासो-जनसमस्या के कस्ता छन् भन्ने पनि थाहा छ। कहिलेकाहीं रनभुल्लमा पर्नुभयो भने त्यो तत्कालीन समयमा बुझाएको ४० बुँदे अन्तर्गतका ‘जनजीविका सम्बन्धी’ माग पल्टाउनुहोस्। कि युद्धको मूल स्पिरिट नै गलत रहेछ भनेर स्वीकार्नुपर्‍यो कि आफूले अवसर पाउँदा सकारात्मक पहलकदमी लिनुपर्‍यो। यो बाहेक अर्को विकल्प के छ र सुप्रिमोसँग ?

मान्छेहरू भनिरहन्छन्, ‘प्रचण्डलाई गुमराहमा राखेर राम्रा काम गर्नेभन्दा सीमित स्वार्थ समूहले आफ्नो फाइदा गरिरहन्छन्।’ यो तर्क मलाई बडो हास्यास्पद लाग्छ र स्वतः प्रतिप्रश्न आइहाल्छ।

भुइँमान्छे भएरै यहाँसम्मको यात्रा सुरु गरेका, जीवनमरणको त्यो कहालीलाग्दो विगतबाट आएका, आफैंले देखेका धरातलीय समस्या पूरा गर्ने सपना साँचेका प्रचण्ड अरु कसैले गुमराहमा राख्दैमा राखिन्छ?

*****

यो लेख एक शुभचिन्तकको प्रचण्डप्रतिको अलिकति भए पनि बाँकी रहेको भरोसाको उपज हो।

यो कार्यकालको अन्तिमसम्म पनि केही भएनछ भने पनि आफ्नोतर्फबाट झकझकाउने कोसिस गरेकै थिएँ नि भन्ने सन्तोष हुनेछ भनेर यति कोरेको।

तपाईंको कार्यकालका आगामी दिन आशावादी रहे भने आलोचनात्मक प्रतिक्रिया दिइरहिनेछ।

निराशाजनक रहे भने मेरा बाँकी आशा-अपेक्षा पनि तपाईंको कार्यकालको समाप्तिसँगै समाप्त हुनेछन्।

अहिलेलाई एउटै अपेक्षा : तपाईंप्रति बाँकी त्यो अपेक्षा कायम राखिरहने प्रयत्न गरिदिनुहोला है।

मेरो क्षेत्रका प्रतिनिधि सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई यो कार्यकालको शुभकामना।

-गोरखा



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ