जनार्दन शर्माको सक्रियता : माओवादी केन्द्रको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने तयारी


काठमाण्डु — माओवादी केन्द्रले सांगठनिक सक्रियता बढाएको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबार संगठन विभागको बैठक बोलाएर पार्टीलाई चलायमान बनाउने प्रयास सुरु गरेका छन् ।

उनि नेकपा माओवादी केन्द्रको महाधिवेशनअघि पार्टीको संगठन विभाग प्रमुख थिए । अहिले माओवादीले नयां विभाग गठन नगरेपनि संगठन विभागको काम भने शर्माले नै हेरिरहेका छन् ।

शर्मा महासचिवको दावेदार भएपनि माओवादी केन्द्रका अध्यक्ष दाहालले देव गुरुङलाई महासचिव वनाएर उनलाई उपमहासचिव बनाएपछि शर्मा असन्तुष्ट थिए । शर्मासंगै महासचिवका लागि वर्षमान पुन र शक्ति बस्नेत समेत दावेदारका रुपमा देखिएपछि दाहालले गुरुङलाई महासचिवको जिम्मेवारी दिएका हुन् ।

शर्मा पार्टी महासचिव नभएपछि उनले सार्वजनिक रुपमै उपमहासचिवको रुपमा आफु कार्यक्रममा सहभागी तर, संगठन विभागको प्रमुखका रुपमा आफु आएकोे भन्दै असन्तुष्टी जनाएका थिए ।

आइतबार बसेको संगठन विभागको बैठकमा प्रदेश १ का इन्चार्ज राम कार्की, मधेश प्रदेशका इन्चार्ज गणेश साह, कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज डिलाराम आचार्य र उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज लिलामणि पोखरेलको सहभागिता थियो । अर्को बैठक पुष २१ गते बोलाइएको छ ।

शर्मा अर्थमन्त्री भएपछि सांगठनिक गतिविधिमा कम सक्रिय थिए । नेपाली कांग्रेससंगको गठबन्धन सरकारलाई नै अघि बढाउनुपर्ने माग पार्टीभित्र उनको थियो । तर, अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि उनको लाइन कमजोर भएको कतिपयको विश्लेषण छ । तर, शर्मा पछिल्लो समय पार्टी,संगठनलाई बलियो बनाउने छलफलमा जुटेका छन् ।

यद्यपी उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना अध्यक्ष दाहाललाई प्रधानमन्त्री दिन सुझाएका थिए । नभए दाहाल एमालेतिर जान सक्ने सुझाव उनले प्रधानमन्त्रीलाई दिएको बालुवाटार स्रोतले बतायो । शर्मा पार्टीभित्र एमालेसंग सहकार्यको विरोधमा नभएपनि पार्टी एकता भने तत्काल गर्न नहुने पक्षमा रहेको स्रोत बताउंछ ।

माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यो सहकार्यलाई पार्टी एकतासम्म लाने गरी छलफल भइरहेको बेला शर्माले सक्रियता बढाएका हुन् । यसअघि एमाले र माओवादी केन्द्रको एकतामा शर्माले नै निर्णायक भुमिका खेलेका थिए ।

शर्माकै पहल गरेर पछिल्लो समय बावुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्हमा लड्न तयार भएका हुन् । त्यति मात्र होईन उनि पार्टी एकता समेत गर्न तयार भएका छन् ।

उपमहासचिव शर्माले पार्टीको बैठकमै माओवादी विघठन गर्नुपर्ने आवाज उठाएका थिए । अहिले माओवादी पार्टीको नाम फेरेर समाजवादी केन्द्र निर्माण गर्नेबारे शर्मा सक्रिय भएको माओवादी स्रोत बताउंछ । यसबारेमा शर्मालाई प्रश्न गर्दा उनले त्यसबारेमा छलफल चलिरहेको स्वीकार गरे ।

स्रोतकाअनुसार माओवादीको नाम,चुनाव चिन्ह् र झण्डा परिवर्तनबारे अहिले छलफल भइरहेको छ । त्यस बाहेक सांगठनिक संरचना समेत नयां बनाउनुपर्नेमा छलफल केन्द्रीत छ । माओवादीभित्र शर्माको बलियो संगठन छ । उनि पछिल्लो समय पार्टीभित्र अध्यक्ष दाहाललाई चुनौति दिन सक्ने एक मात्र नेताका रुपमा चिनिन्छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ