माधव नेपाल एमालेमा फर्किने सम्भावना !


]

काठमाण्डु- नेकपा एमालेमा नेकपा एकीकृत समाजवादी समाहित हुने सम्भावना देखिएको छ ।  पछिल्लो समय नेकपा एमालेका दोस्रो तहका नेताहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एससँग निरन्तर संवादमा जुटेका छन् ।

माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर आफ्नो नेतृत्वमा नेकपा एस गठन गरेका थिए ।  नेकपा एस गठन गरेपछि उनी वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक बनेका थिए । यसअघि माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुनसक्ने तर एमालेसँग नहुनेसमेत दावी गरेका थिए ।

तर, अध्यक्ष नेपालसँग छलफल नै नगरी प्रचण्ड बालकोट छिरेपछि परिस्थिति फेरिएको छ । पछिल्लो समय माधव नेपाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् । आफूले प्रचण्डलाई हरेक समयमा साथ दिएको तर प्रचण्डले भने मनोमानी ढंगले बालकोट छिरेको भन्दै माधव नेपालले खुलेआम गुनासो गरेका छन् ।

उनले आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँग यही गुनासो पोखेका छन् । यसको फाइदा भने नेकपा एमाले लिने दाउमा छ । नेकपा एसलाई आफ्नो पार्टीमा मिलाएर प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बन्ने एमालेको रणनीति हो ।  अहिले प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् । नेकपा एसका १० सांसद थपिदा कांग्रेसको बराबर ८८ सांसद पुग्नेछन् ।

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले ८९ सीटबाट एक सीट घटेको हो । एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् ।

यदि एमालेमा नेकपा एस समाहित भएमा योगीसहित ८९ सांसदसहित  प्रतिनिधिसभामा एमाले सबै भन्दा ठुलो दल हुनेछ ।  त्यसकारण नेकपा एमालेका नेताहरू माधव नेपाललाई फकाउन लागि परेका छन् । मंगलबार मात्रै अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

यता नेकपा एसका केही नेताहरु पनि नेकपा एमालेमा फर्किने मनसायमा छन् । नेकपा एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु अध्यक्ष ओली र माधव नेपाललाई भेटवार्ता गराउन सक्रिय छन् । पछिल्लो समय अध्यक्ष ओली पनि माधव नेपालसँग नजिकिन थालेका छन् ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा सहभागी हुन सोमबार शीतलनिवास पुगेका उनीहरू पूर्वप्रधानमन्त्रीको हैसियतमा संयोगले एउटै लहरको कुर्सीमा एकैठाउँ बसेका थिए । त्यही क्रममा अध्यक्ष ओली र माधव नेपालबीच संवाद भयो ।

शपथ चलिरहँदा ओलीले माधव नेपाललाई शिष्टाचारसहित हालखबर सोधेका थिए । ‘बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ । के छ अहिलेको अवस्था ?’ ओलीको यस्तो जिज्ञासापछि नेपालले अहिले स्वास्थ्य अवस्था ठीकठाक रहेको जवाफ फर्काए  । निमोनियाको लक्षण देखिएपछि गत मंगलबार नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरी फर्किएका थिए ।

राष्ट्रपति कार्यालयमै उनीहरूबीच शपथ सकिएपछि खाजा खाँदै गर्दा पनि दोस्रो चरण संवाद भयो । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै ओलीले ‘अहिलेको घटनाक्रमलाई किनारको साक्षी बसेर हेरिरहेको’ बताएका थिए । जवाफमा नेपालले पनि ‘तपाईं मात्र किन ? म पनि उसैगरी हेरिरहेको छु’ भनेका थिए ।

ओली-नेपालबीचको तिक्ततापूर्ण सम्बन्ध विस्तारै सुमधुर बन्दै जाँदा पुनः यी दलहरुबीच सहकार्य हुने सम्भावना पनि देखिएको छ। यद्यपि, एमालेसँग सहकार्य गरे पनि पार्टी नै फुटाएका माधव नेपाल पुनः एमालेमा फर्किन्छन् फर्किन्नन् भन्नेबारे यकिन छैन ।

५ पुस ०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तर्विरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली-नेपालबीच ९ वैशाख ०७८ मा मेरियट होटेलमा अन्तिम औपचारिक भेटवार्ता भएको थियो । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन ।

 सर्वोच्च अदालतको फैसलाबाट २९ असार ०७८ मा शेरबहादुर देउवाको प्रधानमन्त्री नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेशसँगै ९ भदौ ०७८ मा पुग्दा एमाले विभाजित भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ