देउवाको विरासत ढाल्न गगनलाई छैन सहज
काठमाण्डु- कांग्रेस संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
जसअनुसार कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाविरुद्ध उम्मेदवारी दिएका थापालाई युवा सांसदहरुका साथ छ । थापाले नेपाली कांग्रेसमा अब युवाहरुले अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । त्यसकारण बुधबार हुने निर्वाचन रोचक हुने देखिएको छ ।
अर्कोतर्फ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा फरक समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गरेका पार्टीका चार जना चर्चित नेताहरू संसदीय दलमा सभापति देउवाको विकल्प खोज्ने मुद्दामा एकै ठाउँ उभिन आइपुगेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा महामन्त्रीमै प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजाल र प्रदीप पौडेल दलको नेता परिवर्तन हुनुपर्ने मुद्दामा एकै ठाउँ उभिन आइपुगेका हुन्।
उनीहरू महामन्त्री गगन थापालाई संसदीय दलको नेता बनाउने सवालमा एकै ठाउँमा उभिएका छन्। तर पनि थापालाई संसदीय दलको नेतामा निर्वाचित हुन सहज छैन् । गत मंसिरमा सम्पन्न संघीय निर्वाचनको परिणामअनुसार कांग्रेसमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।
कांग्रेसका अधिकांश सांसद देउवाको पक्षमा रहेको खुलेको छ । संस्थापन पक्षतर्फ हालसम्म ५० भन्दा बढी सांसद खुलिसकेका छन् । यस हिसाबले शेखर–गगन समूहमा ४० भन्दा कम सांसद छन् । त्यसकारण दउवाविरुद्ध गगनलाई चुनाव जित्न सहज छैन् ।
तपाईको प्रतिक्रिया दिनुहोस