विश्वकप फुटबलमा नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश


काठमाण्डु – कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘ए’बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलवार राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

नेदरल्यान्डस समूह ‘ए’को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका हुन् । समूहबाट आयोजक कतार र इक्वेइडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

कतारको अलबायत स्टेडियमा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो । खेलको २६औं मिनेटमा नेदल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै शुरूआती अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा पनि १ गोल थप्यो ।

खेलको ४८औं मिनेटमा नेदरल्यान्ड्सका अर्का खेलाडी फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यससँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।

कतारको खलिफा रंशालामा मंगलवार राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।

इस्माएला सारले खेलको ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई पहिलो अग्रता दिलाए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो ।

खेलको दोस्रो हाफको ६८औं मिनेटमा इक्वेइडरका मोइसेस काइसेडोले १ गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए तर खेलको ७०औं मिनेटमा सेनेगलका कालिडु कौलीबालीले १ गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । सेनेगलले ३ खेलमा २ जीतसहित ६ अंक जोड्यो ।

यता इक्वेइडर ४ अंकसहित तेस्रो तथा कतार विना अंक चौथो स्थानमा रह्यो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ