बदर मत बढ्यो, औसत पाँच प्रतिशत
आयोगले अपेक्षा गरेभन्दा चार प्रतिशत बढी मत बदर हुने प्रारम्भिक विवरण
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २.४ प्रतिशत मात्रै मत बदर भएको थियो । ६ महिनापछि भएको आमचुनावमा बदर प्रतिशत दोब्बरले बढेको प्रारम्भिक तथ्यांक छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको ४ मंसिरमा सम्पन्न निर्वाचनमा औसत पाँच प्रतिशत मत बदर भएको तथ्यांकले देखाएको छ । सोमबार अपराह्नसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको एक सय ५३ निर्वाचन क्षेत्रको मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०५ प्रतिशत मत बदर भएको छ ।
आयोगले बदर मतलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिए पनि परिणाममा भने ०७४ कै हाराहारीमा मत बदर भएको देखिएको छ । ०७४ मा दुई चरणमा भएको मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २.४ प्रतिशत मात्रै मत बदर भएको थियो । ६ महिनापछि भएको आमचुनावमा बदर प्रतिशत दोब्बरले बढेको प्रारम्भिक तथ्यांक छ ।
मतदानअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खसेको ९९ प्रतिशत मत सदर हुने दाबी गरेका थिए । वडासम्मै स्वयंसेविका परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको, मतपत्र ठूलो र स्पष्ट भएको र मतदाता जागरुक भएकाले ९९ प्रतिशत सदर हुने उनको भनाइ थियो । तर, परिणाम भने ठीक उल्टो आएको छ । आयोगले अपेक्षा गरेभन्दा चार प्रतिशत बढी मत बदर हुने प्रारम्भिक विवरणले देखाएको छ । यद्यपि, अन्तिम नतिजा आउन बाँकी छ ।
आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार सोमबार अबेर रातिसम्म एक सय ५६ क्षेत्रको मतगणना सकिएको छ । तर, समग्रमा एक सय ५८ क्षेत्रको नतिजा आइसकेको छ । सुनसरी ४, सुनसरी ३, उदयपुर १ र धनुषा ४ मा गणना भइरहेको छ भने दोलखा, स्याङ्जा र बाजुरामा गणना नै सुरु भएको छैन ।
समानुपातिकतर्फ ९५ लाखभन्दा बढी मत गणना भइसकेको छ । करिब १० लाख मत गन्न बाँकी छ । प्रदेश सभातर्फ पनि गणना अन्तिम चरणमा पुगेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादितबाहेक गणना भइरहेका सबै क्षेत्रको परिणाम मंगलबारसम्म आइसक्ने बताए । उनका अनुसार बदर मतको अनुपात औसतमा पाँच प्रतिशत देखिएको छ । यद्यपि, अन्तिम परिणाम नआई कति बदर हुन्छ ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ । आयोगले यो निर्वाचनमा मतदाता शिक्षामा मात्र ५० करोड रुपैयाँ खर्च गरेको थियो ।
मतदाता शिक्षामा गरेको लगानीअनुसार आयोगले कम्तीमा ७० प्रतिशत मतदान हुने र ९९ प्रतिशत सदर हुने प्रक्षेपण गरे पनि लक्ष्य छुन सकेन । मतदान पनि ६१ प्रतिशत मात्रै हुन सक्यो । ०७४ भन्दा ६ प्रतिशत कम मत खस्यो ।
आयोगको प्रणालीमा परिणाम प्रविष्ट भएको एक सय ५३ क्षेत्रको एक करोड ६५ लाख २३ हजार एक सय ६३ मतदातामध्ये ६१.४८ प्रतिशत मत खसेको छ । एक करोड १५ लाख नौ हजार ५७ मत खसेकोमा ९४.९५ प्रतिशत सदर भएको तथ्यांक छ । यो भनेको ९६ लाख ४५ हजार सात सय चार मत हो । एक सय ५३ क्षेत्रमा कुल ५.०५ अर्थात् ५ लाख १३ हजार तीन सय ५३ मत बदर भएको छ ।
एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० कुल मतदाता रहेको निर्वाचनमा ६१ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक विवरण थियो । ६२ प्रतिशत पुग्ने आयोगको अनुमान छ । ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेकोमा एक सय ५३ क्षेत्रको एक करोड १५ लाख नौ हजार ५७ मतबाहेक आठ लाख १३ हजार नौ सय ७० मतको गणना सकिएर नतिजा आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ । गणना भइरहेको सात प्रतिशत मतको बाँकी परिणाम आएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम विवरण आउनेछ ।
०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ एक करोड ५४ लाख सात हजार नौ सय ३८ कुल मतदाता रहेकोमा ६८.६६७ अर्थात् एक करोड पाँच लाख ९४ हजार ४४ मत खसेको थियो । ९४.८२ अर्थात् सदर एक करोड चार लाख पाँच हजार चार सय ७४ मत सदर भएको थियो । ५.१७ प्रतिशत अर्थात् पाँच लाख ४८ हजार पाँच सय ७० मत बदर भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस