दार्चुला पुगेर प्रधानमन्त्री देउवाले भने – ओली बोल्दैमा अतिक्रमित भूमि फिर्ता हुँदैन


दार्चुला : प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे दार्चुलामा आएर बोलेर अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् । बुधवार दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रम देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर संसद्ले बहुमतले पारित गरेको अवस्थामा अव वार्ताद्वारा त्यसको समाधान गरिनुपर्ने र आफूले पहल गरिरहेको पनि बताए ।

‘अतिक्रमित भूमि फिर्ता लिन भारतसँग कुरा गर्नुपर्छ । सबै एक भएर वार्तामार्फत भूमि फिर्ता ल्याउनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजीले यहाँ आएर बोलेर केही हुँदैन । भारतसँग कुरा गर्न सक्नुपर्छ । हामी कूटनीतिक रूपमा पहल गछौँ ।’ उनले गठबन्धनको औचित्य प्रस्ट पार्दै लामो लडाइपछि ल्याएको लोकतन्त्र जोगाउनेमात्र नभई सुदृढ र समृद्ध बनाउन पनि गठबन्धन जरुरी रहेको बताए । उनले यो गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म रहने बताए । ‘यो गठबन्धन अहिलेमात्रै होइन, पछिसम्म रहन्छ किनभने यो राष्ट्रिय आवश्यकता पनि हो’, प्रधानमन्त्री देउवाको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ