दार्चुला घटना : परराष्ट्रले पठायो भारतलाई ‘कुटनीतिक नोट’


काठमाण्डु – परराष्ट्र मन्त्रालयले सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।

परराष्ट्रले आइतबार बिहान काठमाण्डुस्थित भारतीय दूतावासलाई तीन आग्रहसहित ‘कूटनीतिक नोट’ पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

पत्रमा भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनका लागि ध्यानाकर्षण गराइएको छ ।

घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ । भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ भने पीडित परिवारलाई १६ लाख क्षतिपुर्ति दिने सहमति गरेको छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ