कुन-कुन क्षेत्रमा हुँदैछ सत्ता गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा ? (सूचीसहित)
काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ११ ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये २ र प्रदेशसभाको ३३० क्षेत्रमध्ये ९ ठाउँमा गरि ११ निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।
गठबन्धनमा रहेको जसपाले सिट बाँडफाटमा असन्तुष्टी जनाउँदै छाडेर नेकपा एमालेसँग तालमेल गरेपछि भित्रिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि अटाएर लैजाने क्रममा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो ।
सत्ता गठबन्धनले काठमाण्डु क्षेत्र नम्बर १० मा प्रतिस्पर्धा र्गे समझदारी गरेका छन्। यस क्षेत्रमा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले नेपाली कांग्रेसका राजन केसीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्। त्यसैगरी जसपाले सत्ता गठबन्धन छाडेपछि भित्रिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
उनले सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका एकजना अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि महतोलाई समस्या भएको हो । जसपाको स्थानमा लोसपा बालुटार छिरे पनि धनुषाबाट सर्लाही फर्किएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।
प्रदेशसभातर्फ
सत्तारुढ दलका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने क्षेत्रहरुमा मा कञ्चनपुर–२ ‘ख’, कञ्चनपुर–३ ‘क’, काठमाण्डु–३ ‘ख’, काठमाण्डु–५ ‘ख’, काठमाण्डु–६ ‘ख’, काठमाण्डु–१० ‘क’, पर्सा–३ ‘ख’, बारा–१ ‘ख’ र सर्लाही–१ ‘क’ रहेका छन्।
यी क्षेत्रमा सत्ता गठबन्धन दलहरुले मित्रवत प्रतिष्पर्धा गर्ने लिखित सहमति गरेर सबैजना उम्मेदवारको सूची नै सार्वनजिक गरेका हुन्। शुक्रबार सार्वजनिक सत्तारुढ दलका साझा उम्मेदवारहरुको सूचीअनुसार कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख छ ।
त्यसैगरी कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ। यता काठमाण्डु–३ ‘ख’ मा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल, काठमाण्डु–५ ‘ख’ माकांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ ।
यस्तै काठमाण्डु–६ ‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाण्डु–१० ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलिप महर्जनसँग मित्रवत् प्रतिष्पर्धा गर्नेछन् ।
साझा उम्मेदवारहरुको सूची अनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाहा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपेन्द्र महतोबीच मित्रवत् प्रतिष्पर्धा हुँदैछ । नेताहरुले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस