पोखरामा गठबन्धनका नेताहरुको सम्बोधन, कसले-के भने ?
पोखरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट गरे ।
यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै भन्दै उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।’
प्रधानमन्त्री देउवाले गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको बताए । गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।
उनले भने, ‘सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन । बृहत्तर उद्देश्यका साथ सङ्घर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन ।’
प्रचण्डले लामो सङ्घर्षपछि प्राप्त उलब्धिको रक्षाका लागि गठबन्धन अघि आएको बताउँदै सत्ताप्राप्तिका लागि मात्र हो कि भनेर सोच्न नहुने उल्लेख गरे । जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरे । उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गरे ।
उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।’
अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पारे । विपक्षी गठबन्धनलाई गणतन्त्र, सङ्घीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ । जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उनले बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताए ।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताउँदै उनले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उनको भनाइ छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनमा दलबीचमा सिट सङ्ख्या भागबण्डा गर्दा स्वाभाविकरुपमा सबैले टिकट पाउने अवस्था नहुने कुरालाई आत्मसात् गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय कार्यकारी समितिका अध्यक्ष रश्मीराज नेपालीले विभिन्न विमतिका बाबजुद गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक भएकामा जोड दिए । उनले प्रतिगामी शक्तिले जित्दा अराजकतासँगै र विदेशी शक्तिको प्रभाव बढ्ने हुँदा गठबन्धनका उम्मेदवारले जित्नु अपरिहार्य भएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्राप्त उपलब्धिको रक्षासँगै विकासका लागि गठबन्धनको विजय आवश्यक भएको धारणा राखे । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धन दलका प्रदेशस्तरीय कार्यकताको भेलाले गठबन्धनको चुनावी गतिविधिलाई थप बलियो बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरिन् ।
नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठले गठबन्धनका उम्मेदवार भएका स्थानमा परेका बागी उम्मेदवारीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले गठबन्धनको यो अभियान निरंकुशतालाई सँधै पराजित गर्ने अभियानका रुपमा रहेको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस