कमलाको ह्याट्रिक स्वर्ण

नौ महिनाअघि बायाँ खुट्टा डिसलोकेट भएपछि लगाएको स्टिल ननिकाल्दै कमला श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद २०७९ मा स्वर्णपदक चुमिन्


पोखरा — नेपाल आर्मीकी कमला श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत् भारोत्तोलनमा महिला ५९ केजीमुनिको स्पर्धामा लगातार तीन स्वर्णपदक जित्दै सोमबार ह्याट्रिक गरेकी छन् ।

उद्योग वाणिज्य महासंघ कास्कीको हलमा सम्पन्न प्रतिस्पर्धामा २७ वर्षीया कमलाले स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५३ केजी भार उचाल्दै स्वर्ण पदकसहित ह्याट्रिक पूरा गरेकी थिइन् ।

यसअघि उनले सातौं राष्ट्रिय खेलकुद २०७३ र आठौं संस्करण २०७६ मा पनि उही स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

‘आज यत्ति नै गर्छु भन्ने लक्ष्य थिएन, स्वर्ण जित्नेमात्रै थियो,’ भारोत्तोलनमा एक दशकअघि प्रवेश गरेकी उनले भनिन्, ‘नौ महिनाअघि बायाँ खुट्टामा डिसलोकेट भएपछि लगाएको स्टिल निकालेको छैन । त्यसैले लामो समय अभ्यास नै गरेकी थिइनँ । दुई महिनामात्रै तालिम गरेपछि राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेकी हुँ । आफ्नो टिमलाई स्वर्णपदक दिलाउनमात्रै खेलेकी हुँ, यसमा सफल भइयो । सबैको इच्छा स्वर्णपदक जित्ने हुन्छ । यसमा पनि ह्याट्रिक गर्दा खुसी लागेको छ ।’

उक्त स्पर्धामा पुलिसकी देवी कुमारी चौधरीले स्न्याचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७० केजी गरी कुल १ सय २८ केजी उचाल्दै रजत पदक जितिन् । आर्मीकी अस्मिता पुलामी मगरले स्न्याचमा ५३ केजी र क्लिन एन्ड जर्कमा ७० गरी कुल १ सय २३ केजी उठाउँदै कांस्य पदक हात पारिन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ